शान्ति प्रक्रियाका बाँकी काम टुंगिन लाग्यो : प्रधानमन्त्री

शान्ति प्रक्रियाका बाँकी काम टुंगिन लाग्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । रुकुमपश्चिमको बाँफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंगाउन सरकारले पहल गरिरहेको उल्लेख गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘गाउँमै आएर भेट्न पाउँदा खुशी लागेको छ । महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन । तसर्थ, यो परिवर्तनको हकदार तपाईंहरू हुनुहुन्छ ।’

यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको प्रधानमन्त्रीले सुनाउनुभएको छ । ‘यो पार्टी रूपान्तरणको महत्वपूर्ण आधार हो । फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईंहरूमाझ आएको छु,’ प्रधानमन्त्रीले भन्नुभयो ।

फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको र यसबाट जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान प्रकट भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ । यो सहिदहरूप्रति उच्च सम्मान हो ।’

शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ । यो विधेयकको कानुनी प्रक्रिया टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्रलगायत काम सम्पन्न हुने विश्वास प्रधानमन्त्रीले दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘सहिद पार्कहरू, स्तम्भहरू बन्छन् । यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ । मासिक भत्तालगायत कामहरू व्यवस्थित भएका छन् । बाँकी कामहरू पनि सम्पन्न गरिने छ ।’

कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राखेका थिए ।

टिप्पणीहरू