राष्ट्रसंघीय महासचिवको नेपाल भ्रमण औचित्यहीन भन्दै कमल थापाद्वारा रात्रीभोज बहिष्कार
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आयोजना हुने रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने भएका छन् ।
गएराती काठमाडौं आएका महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुका आयोजना गर्न लागेको रात्रीभोज थापले बहिष्कार गर्ने बताएका हुन् । हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका बेला गुटेरेसको नेपाल भ्रमण औचित्यहीन रहेको टिप्पणी गर्दै थापाले सो कार्यक्रममा आफू सहभागी नहुने जनाए ।
‘संक्रमणकालिन न्यायका लागि यो सरकार गम्भिर छैन, उसैको निम्तोमा नेपाल आएको छ, त्यसमाथी हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका छन्, राष्ट्रसंघ भनेको त ग्लोबल गर्भमेन्ट पनि हो, त्यसको नेतृत्वमा रहेको प्रमुख ब्यक्ति त्यताको मुद्धा छाडेर नेपाल आउनुको कुनै औचित्य देख्दिन्,’ उनले भने, ‘त्यसैले प्रयोजनविहीन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रीभोजमा नजाने निर्णय लिएको छु ।’
थापा अनुसार महत्वपूर्ण मुद्धा छाडेर राष्ट्रसंघका प्रमुख औचित्यहीन भ्रमणमा आउनुले उनी विश्व शान्तिप्रति संवेदनशील नरहेको सन्देश गएको छ ।
महासचिव गुटेरेसको सम्मान प्रधानमन्त्री प्रचण्डले आज बेलुकी सोल्टी होटेलमा रात्रीभोजको आयोजना गर्नुभएको छ ।
टिप्पणीहरू