कम्बोडियामा लगानी गरेको पत्ता लगाउनेलाई केपी ओलीले एक हजार थपेर दिने

कम्बोडियामा लगानी गरेको पत्ता लगाउनेलाई केपी ओलीले एक हजार थपेर दिने
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर आफू र आफ्नो पार्टीको बदनाम गर्न खोजिएको बताउनुभएको छ । 

आज पोखरामा आयोजित गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले सिध्याउन यस्ता अनर्गल प्रचार गरिएको दावी गर्नुभयो । त्यसक्रममा ओलीले कम्बोडियामा आफूले लगानी गरेको प्रमाण ल्याउन चुनौतीसमेत दिनुभयो । 

उहाँले भन्नुभयो, ‘कहिले कम्बोडियामा लगानी गरेको भन्छन् । कहिले ठाउँ-ठाउँमा जग्गा र महल छ भन्छन्, यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो । कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु ।’ 

एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही समयअघि कम्बोडियाको कम्पनीमा ओलीको लगानी रहेको दावी गरेका थिए । एमालेमा रहँदासम्म ओलीलाई हजुरबा भनेर सम्बोधन गर्ने प्रसाईले सार्वजनिक मंचबाटै उक्त दावी गरेपछि गरेपछि यसबारे विभिन्न टिकाटिप्पणी भैरहेको छ । 

अध्यक्ष ओलीले प्रसाईको नाम नलिई प्रमाण ल्याउन चुनौती दिनुभएको हो ।

टिप्पणीहरू