राष्ट्रसंघीय महासचिवको संसद बैठकलाई सम्बोधनको तयारी पूरा
सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे जानकारी लिनुभएको छ । सभामुखले संसदका दुवै सदनको संयुक्त बैठक कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गर्नुभएको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अपरान्ह संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरुलाई व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन व्यवस्थापनलाई सचेत गराउनुभएको हो ।
सभामुखलाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले भोलिको तयारीबारे जानकारी दिएको बताइएको छ ।
टिप्पणीहरू