एमाले कार्यकर्ताले पत्रकार कुटेकोमा महासंघको निन्दा

एमाले कार्यकर्ताले पत्रकार कुटेकोमा महासंघको निन्दा
सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालयमा एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले पत्रकार कुटेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ । 

महासंघले आज विज्ञप्ति निकालेर उक्त घटनाको निन्दा र भत्र्सना गरेको हो । महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलनका लागि पुगेका महासंघ बेल्जियम शाखाका अध्यक्ष तथा चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई एमाले कार्यकर्ताले सांघातिक हमाला गरी घाइते बनाएको र उनको सञ्चार समाग्रीसमेत तोडफोड गरेको उलेख छ । 

हिजो बालुवाटारस्थित एनआरएनएको कार्यालयमा युवा संघले नवनिर्वाचित अध्यक्ष (विवादास्पद) बद्री केसीलाई स्वागत गर्ने कार्यक्रम राखेको थियो । त्यतिबेलै अर्को पक्षका अध्यक्ष आरके शर्मा आफूनिकटहरुलाई लिएर कार्यालयमा पुगेका थिए । त्यसैक्रममा दुईपक्षबीच विवाद भएको र त्यसको फोटो तथा भिडियो खिच्नेक्रममा पत्रकार शर्मामाथि दाँत फुस्कनेगरी आक्रमण भएको थियो । 

युवासंघका इञ्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतको अगुवाईमा पत्रकार शर्मामाथि कुटपिट भएको आरके पक्षको आरोप छ । एमाले निकट भनिएका केसी समूहले भने आफूहरुको कार्यक्रम बिथोल्न अर्को पक्षले माओवादीका कार्यकर्ता परिचालन गरेपछि लफडा भएको दाबी गरेको छ ।  

महासंघको बेल्जियम शाखालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ’पत्रकार शर्माले समाचार बनाउने उद्धेश्यले फोटो खिच्ने क्रममा उहाँमाथि राष्ट्रिय युवासंघ नेपालका कार्यकर्ताले सांघातिक आक्रमण गरेको र शर्माको सञ्चार समाग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ । 

महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता तथा भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग मागसमेत गरेको छ ।

टिप्पणीहरू