प्यालेस्टाइनको पक्षमा नारा लाउँदै माले र नेमकिपा सडकमा

प्यालेस्टाइनको पक्षमा नारा लाउँदै माले र नेमकिपा सडकमा

नेकपा (माले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका छन् । इजरायल-हमास युद्धका कारण निहत्था प्यालेस्टाइनी जनता मारमा परेको भन्दै त्यसको विरोधमा दुबै पार्टीले आज काठमाडौँ छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका हुन् । 

नेकपा मालेको बाग्मती प्रदेश कमिटीले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनको सो पार्टीका महासचिव सीपी मैनालीले नेतृत्व गरेका थिए । प्रदर्शनमा बागमती प्रदेश कमिटीका सचिव सिद्दी महर्जन, इञ्जार्च कृष्ण रानालगायत दर्जनबढीको सहभागिता थियो । 

‘विश्वका सर्वहारा र उत्पीडित राष्ट्रहरु एक होऔं’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनमा प्यालेस्टाइनलाई देश स्वीकार गर्न माग गरिएको छ । प्रदर्शनकारीहरुले ‘इजरायलमा असुरक्षित नेपाली नागरिकहरुलाई अविलम्ब घर फिर्ता गर !’,‘मध्यपूर्वमा युद्दको डढेलो लगाउने कार्य बन्द गर’,‘सार्वभौम प्यालेस्टाइनी देश स्वीकार गर’,‘हमास–अपहरित विपिन जोशीलगायत सम्पूर्ण बन्दीहरुलाई तत्काल रिहा गर’, लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरे । 

यता, नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले पनि प्यालेस्टाइनको पक्षमा र्याली निकालेको छ । ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद ! इजरायली फाँसीवाद मुर्दावाद’ भन्दै सो पार्टीका सचिव एवं सांसद प्रेम सुवालको नेतृत्वमा रत्नपार्कस्थित शान्तिबाटिकाबाट कालो ब्यानर र झण्डासहित र्याली निकालिएको हो । 

र्यालीमा पूर्वसांसद अनुराधा थापामगर, युवा संघका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटा, विद्यार्थी संघका अध्यक्ष प्रकाश गुरुङ्ग, काठमाडौं युवा संघका अध्यक्ष रमेश डंगोल, केन्द्रीय उपाध्यक्ष सुरेश परियारलगायत पाँच सय बढीको सहभागिता रहेको छ । उनीहरुले प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको बर्बर हमला रोक्न माग गरेका छन् । 

प्रदर्शनकारीहरुले ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’,‘विश्वका न्यायप्रेमी जनता एक हौं’,‘इजरायली फाँसीवादबाट प्यालेस्टाइनी जनताविरुद्ध भइरहेको पशु व्यवहार बन्द गर’,‘७५ वर्ष (सन् १९४८) देखि लगातार लडिरहेका वीर प्यालेस्टाइनी जनतालाई सलाम’,‘इजरायली प्रधानमन्त्री न्यता न्याहुको फाँसीवादको समर्थन गर्ने अमेरिकी राष्ट्रपति बाइडेन युद्द सरदार हो’, लगायतका प्लेकार्ड बोकेका थिए ।


 

टिप्पणीहरू