कोशीमा मन्त्रीमण्डल बिस्तारको तयारी, डुंगा दुर्घटनाको कारण शपथमा ढिलाई
आज साँझ कोशी प्रदेश सरकार विस्तार गर्न लागिएको छ । मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारमा सहभागी गठबन्धन दलहरुबाट दुई जनालाई मन्त्री नियुक्त गर्न लागेको बताइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको तीन सातापछि दोस्रो पटक गर्न लागिएको मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जनाको नाम सिफारिस गरिएको छ । माओवादीबाट गणेशप्रसाद उप्रेती सुशिल र समाजवादीबाट कमल जबेगु मन्त्री नियुक्त हुने पक्का भएको हो ।
आज साँझ मन्त्रीमण्डल बिस्तारको कार्यक्रम राखिएको छ । मुख्यमन्त्री कार्की कोशी नदीमा भएको डुंगा दुर्घटनामा घाइतेलाई अस्पतालमा भेट्न गएकाले उक्त कार्यक्रम केही ढिलो भएको बताइएको छ ।
कार्की एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही आठ प्रदेश सभा सदस्यसहित संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । उनको मन्त्रिमण्डलमा यसअघि नै एमाले सहभागी भइसकेको छ ।
आज दिउँसो सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रम चलिरहेको समयमा भएको मोटर बोट दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा स्थानीय पत्रकार महाप्रसाद खतिवडा, शम्भु पोखरेल, कुमुद अधिकारीलगायत घाइते भएका हुन् । घाइतेको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
टिप्पणीहरू