राजा फर्काउन हिँडेका कमल थापा नेपालगञ्ज पुगे
पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा राजा फर्काउने आन्दोलनमा सहभागी हुन नेपालगञ्ज पुगेका छन् । भोलि पार्टीको बाँके जिल्ला कमिटीले नेपालगञ्जमा आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्न उनी आज बेलुकी त्यहाँ पुगेको बताइएको छ ।
राप्रपाको अध्यक्ष हुन नपाएपछि राजा नमान्ने घोषणा गरेर एमालेबाट गत आमनिर्वाचनमा प्रतिस्पर्धा गरेका थापा पुनः राजसंस्था पुनस्र्थापनाको बाटोमा छन् । त्यसका लागि सडक केन्द्रित संघर्षलाई प्राथमिकता दिएको राप्रपा नेपालले जिल्ला–जिल्लामा कार्यक्रमको तयारी गरेको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
२०६२÷६३ को मार्गचित्र असफल भएकाले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता छ ।
नेपालगञ्जको सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह–महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने बताइएको छ ।
टिप्पणीहरू