उद्धारमा सहकार्य गर्न प्रधानमन्त्रीको अपील, राहतको निम्ति क्याबिनेट बैठक आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भोलि बिहान ८ बजे बैठक बोलाइएको हो ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने क्याबिनेट बैठकले जाजरकोट भूकम्प पीडितका लागि राहत घोषणा गर्ने बताइएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर मध्यरातमा गएको भूकम्पमा परेर जाजरकोट र रुकुम–पश्चिममा ठूलो जनधनको क्षति भएको छ । आज एकाबिहानै प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएका प्रधानमन्त्री प्रचण्ड स्वयम्ले उद्धार कार्यको निरीक्षण र अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्रीले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन भूकम्प प्रभावित क्षेत्रबाटै सबैलाई अपील गर्नुभएको छ । पीडितलाई राहत र पुनस्र्थापना एवम् घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको उल्लेख गर्नुभएको छ । उक्त काममा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलाई आग्रह गर्नुभएको हो ।
‘हिजो राति गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ’पीडितलाई राहत र पुनस्र्थापना एवम् घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा हार्दिक अपील गर्दछ ।’
टिप्पणीहरू