कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि पत्रकार महासंघको चासो
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपलाई आफुमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको बैठकले कान्तिपुरद्वारा जारी विज्ञप्तिमा महासंघमाथि लगाइएको लाञ्छना तथा आरोप पुष्टि गर्न चुनौती दिएको हो ।
गैरकानुनी ढंगबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठेको प्रश्नलाई पुष्टि गरेको महासंघले बताएको छ ।
महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालनालाई बिर्संदै विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको उसको ठहर छ ।
मुलुकको संविधानले दिएको स्वतन्त्रताको हक, सर्वोच्च अदालतको नजिर, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकारको जगमा टेकेर महासंघले कान्तिपुरलाई विद्यमान कानुनको पालना गर्न दबाब दिएको पनि प्रष्ट पारेको छ ।
त्यस्तै, महासंघलगायत आन्दोलनमा सहभागीविरुद्ध कानुनी प्रक्रियामा जान पनि महासंघले कान्तिपुरलाई चुनौती दिएको छ । महासंघको आन्दोलन पत्रकारको अधिकार मात्र नभएर कान्तिपुरमा हाल कार्यरत सबै पत्रकारलाई न्यूनतम पारिश्रमिक, श्रमजीवी पत्रकार ऐनले दिएका सेवासुविधा प्राप्तिका लागि भएको जनाइएको छ ।
वर्षौंसम्म पसिना बगाएका पत्रकारले संस्थाबाट बिदा हुने बेलामा कानुनले दिएको सुविधा माग गर्दा आरोप र अपमान गर्ने कार्य निन्दनीय रहेको उल्लेख गर्दै महासंघले कान्तिपुरविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने समेत बताएको छ ।
योसँगै अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेलगायत श्रम आन्दोलनको पक्षमा रहेका अन्तर्राष्ट्रिय संघसंस्थालाई कान्तिपुरको गैरकानुनी कार्यबारे जानकारी गराउने उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ, संयुक्त राष्ट्रसंघलगायत संघसंस्थासँग पनि श्रम अधिकारका विषयमा छलफल गर्ने बताइएको छ ।
महासंघले कान्तिपुर मिडिया ग्रुपका सञ्चारमाध्यमहरुद्वारा महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहिताविरुद्ध रहेकाले प्रेस काउन्सिलमा उजुरी गर्ने समेत निर्णय गरेको छ ।
टिप्पणीहरू