चाडबाडमा व्यापार नभएपछि व्यवसायीहरुको पलायन हुने सुर

चाडबाडमा व्यापार नभएपछि व्यवसायीहरुको पलायन हुने सुर
सुन्नुहोस्

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तर, यस पटक आशातित व्यापार नभएको व्यापारीहरुको गुनासो छ । तिहार सुरु हुनु भन्दा डेढ साताअघि काठमाडौंका प्रमुख व्यापारिकस्थलमा सर्वसाधारणको घुईंचो देखिन्थ्यो ।

राजधानीका असन, न्यूरोड, भोटाहिटी, इन्द्रचोक, महाबौद्धलगायतका व्यापारीहरु तिहारमा समेत पर्याप्त व्यापार नभएपछि निराश देखिएका छन् । यो वर्ष आर्थिक मन्दीका कारण उत्साह नदेखिएको उनीहरुको भनाई छ ।

सडकपेटी र खुल्ला स्थानमा राखिएका सामान किन्नेको लाइन देखिए पनि पसलभित्र छिरेर सामान किन्ने कम भएको बताइन्छ । झट्ट हेर्दा राम्रै व्यापार भएको देखिएपनि व्यापारीहरु समग्रमा निराश भएका हुन् ।

‘चाडपर्वका बेला बजारमा मानिसको चहलपहल त बढ्यो तर व्यापार भएन । पसलमा किन्नेभन्दा पनि मोलमोलाई गर्न आउने बढी देखिए । अधिकांश त घुम्न, बजार भाउ बुझ्न र फोटो खिच्न मात्र आएको देखियो,’ विशाल बजारका एक जना पसलेले भने । 

विगतका वर्षमा चाडपर्वका बेला काठमाडौंको न्यूरोड, इन्द्रचोक, असन, महाबौद्धलगायत स्थानका व्यापारीलाई सामान बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । पसलअनुसार दैनिक ५० हजारदेखि एक लाखमाथिको व्यापार हुन्थ्यो । 

तर, कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार सुस्ताएकाले यो वर्ष असर बढी देखिएको हो । यो वर्ष पसलेहरुले सामान बेच्नभन्दा सडकमा हिँडेका सर्वसाधारण हेर्न बढी समय खर्चेका थिए ।

उपभोक्ताको क्रयशक्ति कमजोर भएपछि व्यापार व्यवसाय कमजोर भएको हो । यसले व्यवसायीहरुको मनस्थिति पलायनतर्फ उन्मुख भएको हो । सहरी क्षेत्रमा व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका ४० प्रतिशतभन्दा बढी सटर खाली देखिन्छन् ।

व्यवसाय नचलेपछि व्यापारीहरु विदेश पलायन भएको बताइन्छ । व्यावसायिक सटर र गोदाम धमाधम खाली हुन थालेका छन् । अधिकांश व्यवसायीलाई दशैं–तिहारमा धेरै बिक्री हुने आश थियो । तर, त्यो पनि निराशामै बदलिएपछि उनीहरुले हरेश खाएका हुन् ।

न्यूरोडस्थित रेडिमेड कपडाको व्यापार गर्दै आएका रोशन श्रेष्ठ व्यापारमा ठूलै मन्दी आएको बताउँछन् । व्यापार नभएपछि पसलमा सामान थुपार्नुपर्ने अवस्था सिर्जना हुँदा सस्तोमा सामान बिक्रीवितरण गर्नु परिरहेको उनले लक्ष्मीपूजाको अघिल्लो दिन बताएका थिए ।

छुट दिँदासमेत सामानहरु बिक्री नभएको उनको ठम्याई छ । ‘सबैभन्दा बढी व्यापार हुने भनेकै दशैं–तिहारमा हो । हामी पनि दशैं–तिहारमा केही हुन्छ कि भनेर बसेका थियौं । तर, त्यो अहिले निराशामा बदलियो,’ उनले अगाडि भने, ‘यसपालि चाडपर्वका बेला बजारमा चहलपहल त बढ्यो तर व्यापार सोचेअनुसार भएन ।’

लामो समयदेखि असनमा साडी व्यापार गर्दै आएका राजन केसीको भनाई पनि उस्तै छ । आर्थिक मन्दीका कारण व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको केसीको निश्कर्ष छ ।

उनले भने, ‘दशैं–तिहारमा अलि राम्रो व्यापार हुन्छ भन्ने सोचेर बसेको थिएँ, तर त्यस्तो भएन । अहिले त पसलभाडा तिर्नै मुश्किल छ ।’ व्यवसायबाट निराश भएका उनले अब विदेश जाने सोच बनाएको समेत भन्न भ्याए ।

फूल र उज्यालोको पर्व भनेर चिनिने तिहारमा यसपटक फूलको समेत व्यापार भएन । व्यापार नभएपछि किसानहरु वर्षभरको मेहेनतले उत्पादन गरेको फूल सडकमा फ्याँक्न बाध्य भएका थिए । महानगरपालिकाले ग्राहकलाई अपायक पर्ने स्थानमा फूल बिक्री केन्द्र तोकिदिएपछि फूल व्यापारीको बिचल्ली भएको हो । 

त्यस्तै, झिलीझिली बत्तीको बिक्री पनि यो वर्षको तिहारमा खासै नभएको बताइन्छ । यो वर्षको तिहारमा झिलीमिली बत्तीको माग धेरै नभएकोमा व्यवसायीहरुको गुनासो छ । 

भोटाहिटीस्थित झिलीमिली बत्तीको व्यापार गर्दै आएकी रञ्जना जोशीले भनिन्, ‘तिहारमा राम्रै व्यापार हुन्छ भन्ने लागेको थियो । त्यही आशाले पर्याप्त सामान ल्याएकी थिएँ । तर, सोचेअनुसार व्यापार भएन ।’

‘सरकारले साना व्यापारीलाई व्यापार टिकाउन कुनै पहल गरेन भने अब थेग्न सक्ने अवस्था छैन,’ उनले थपिन् ।

टिप्पणीहरू