चिनियाँ खेलाडीहरु फेरि चीनबाट चार्टर उडानमा आउँदै

चिनियाँ खेलाडीहरु फेरि चीनबाट चार्टर उडानमा आउँदै
सुन्नुहोस्

पोखरामा हुन लागेको ‘अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता’ मा भाग लिन चिनियाँ खेलाडी चार्टर उडानमार्फत नेपाल आउने भएका छन् । प्रतियोगितामा सहभागिता जनाउन खेलाडीसहित अन्य पाहुना गरी एक सय चार जना हिमालय एअरलाइन्सको विमान चार्टर गरी पोखरा जान लागेका हुन् । 

चीन सरकारको सहयोगमा उनीहरु चार्टर उडानमा नेपाल आउन लागेको जनाइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास, पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन, पोखराको सहकार्यमा मंसिर ९ गतेदेखि पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता ‘अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता’ हुँदैछ । 

नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा दुबैतर्फका १०, १० टोली सहभागी हुने छन् । एउटा टोलीमा तीन जनाको दरले प्रतियोगितामा कूल ६० जना सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा धावकहरुले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार, बाराहीघाटबाट शुरु हुने प्रतियोगिता डेभिडफल्स हुँदै शान्ति स्तुपा पुगेर फेवातालमा बोटिङ गरी पुनः बाराहीघाटमा आइपुगेर अन्त्य हुनेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख ६० हजार, द्वितिय हुनेले दुई लाख ८८ हजार, तृतीय हुनेले दुई लाख १६ हजार, चौथौ हुनेले एक लाख ४४ हजार र पाँचौं हुनेले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

सन् २०१९ मा पहिलोपटक पोखरामा ‘अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता’ को आयोजना गरिएको थियो । गत असार ८ र ९ गते पोखरामा आयोजित ‘चिनियाँ ड्रागन बोट रेस’ मा भाग लिन आएका चिनियाँ खेलाडीहरु पनि विमान चार्टर गरेर त्यहाँ पुगेका थिए ।

टिप्पणीहरू