खानेपानी आयोजनामा भ्रष्टाचार, अध्यक्षको संलग्नता रहेको आरोप
मुलुकको निम्ति अर्बुद रोग सरह बनेको भ्रष्टाचार निरन्तर बढ्दै गएको छ । हरेक क्षेत्र भ्रष्टाचार र अनियमिततामा जकडिएको छ । भौतिक संरचना निर्माणदेखि प्रायःजसो सरकारी काममा भ्रष्टाचार हुने गरेको छ । खानेपानी आयोजनाका नाममा समेत भ्रष्टाचार भइरहेको छ, जुन एकदमै लज्जास्पद छ । पर्वतको खौलालाकुरी खानेपानी आयोजनामा भ्रष्टाचार भएको विषय यतिबेला चर्चामा छ ।
आयोजनाबाट भ्रष्टाचारको गन्ध आइरहेको छ । कुश्मा नगरपालिका वडा नम्बर १३, खौलालाकुरीमा निर्माण गरिएको खानेपानी आयोजनामा ठूलो आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ । आयोजनाका अध्यक्ष तिलकबहादुर लामिछानेले कसैलाई जानकारी नगराई सार्वजनिक सुनुवाई गरेपछि अन्य पदाधिकारी र स्थानीयले व्यापक असन्तुष्टि जनाएका छन् ।
अनियमितता भएकाले गोप्य रुपमा हिसाबकिताब सार्वजनिक गरिएको उनीहरुको भनाई छ । सरकारको ‘एक घर, एक धारा’ नीतिअनुरुप थालिएको आयोजनाका लागि केन्द्रबाट बजेट विनियोजन गरिएको थियो । वि.सं २०७२ सालबाट थालिएको निर्माण अहिलेसम्म पनि सम्पन्न भइसकेको छैन् । यद्यपि, हतारहतारमा सार्वजनिक सुनुवाई भने गरिएको हो ।
आयोजनामा हालसम्म कूल पाँच करोड ९२ लाख २६ हजार ५४१ रुपैयाँ खर्च भएको छ । अझैपनि तीन–चार रुपैयाँको काम हुन बाँकी रहेको जनाइएको छ । गत भदौ ९ गते आयोजनाका अध्यक्ष लामिछानेले वडाध्यक्ष तेजप्रसाद चपाईंसँग मिलेर सुटुक्क सार्वजनिक सुनुवाई गरेका हुन् । रोचक प्रसङ्ग के छ भने आयोजनाका अन्य पदाधिकारीलाई सार्वजनिक सुनुवाईबारे जानकारी नै छैन ।
सार्वजनिक सुनुवाईमा स्थानीयको सहभागिता महत्वपूर्ण हुन्छ । सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहभागितामा गरिनुपर्ने सुनुवाई लुसुक्क गरिएपछि स्थानीयसहित विभिन्न पार्टीका गाउँ कमिटीका नेताहरुले विरोध जनाएका छन् । नेकपा एमालेको गाउँ कमिटीका अध्यक्षसमेत रहेका लामिछानेलाई अहिले स्थानीयको घर धाएर भ्याइनभ्याइ छ । उनले घर–घरमा पुगेर स्थानीयलाई रजिष्ट्रारमा सहीछाप गर्न लगाइरहेका छन् ।
‘स्थानीयलाई झुक्काएर पानी खाएको हो भनि सहीछाप गर्न लगाइरहेका छन् । रजिष्ट्रार लिएर उनी घर–घरमा धाइरहेका छन् । आफू भष्ट्राचारबाट बच्न गोप्य रुपमा हिसाबकिताब सार्वजनिक गरेको त प्रष्टै छ’, स्रोतले भन्यो ।
करोडौं लगानी, स्थानीयले खान पाएनन् पानी
आयोजनामा करोडौं रुपैयाँ लगानी भएपनि स्थानीयको धारामा पानी आएको छैन् । घरमा धारा छ भन्नु मात्रै भएको स्थानीयको जिकिर छ । पानी नआउँदा स्थानीयको समस्या ज्यूँका त्यूँ छन् । उनीहरु विगतझैं पानी बोक्न बाध्य छन् । त्यहाँको दुई दर्जन दलित समुदायको घरमा धारा नै जडान भएको छैन् । उनीहरुले छरछिमेकको घरबाट पानी ओसारेर गुजारा गरिराखेका छन् । खानेपानीबाट आफूहरुलाई छुट्याइएकोमा उनीहरुले चित्त दुखाएका छन् ।
पानीको स्रोत नै नभएको ठाउँमा समेत ट्याङ्की बनाएको स्थानीय बताउँछन् । ‘मनलाग्दी हिसाबले ट्याङ्की बनाइएको छ । अधिकांश ट्याङ्कीमा एक महिनाभन्दा बढी पानी चढ्दैन् । हामीले पानी पाउने बर्खाको बेलामा मात्रै हो । अन्य समय त बोक्नैपर्छ । पहिलेपनि थ्बोक्नुपथ्र्याे, अहिले पनि बोकिरहेका छौं’, एक स्थानीयले भने ।
अध्यक्ष लामिछानेले टेण्डर आह्वान नै नगरी आफूखुशी आयोजना निर्माणको ठेक्का दिएको स्थानीय बताउँछन् । निर्माण ठेक्का अध्यक्षका निकटतम गिरिजा तिवारीले पाएका छन् ।
राज्यको सम्पत्ति व्यापक दुरुपयोग भयो : उपाध्यक्ष
आयोजनाका उपाध्यक्ष हर्कबहादुर कार्कीले स्थानीयले सहज रुपमा खानेपानी पाउन नसकेको गुनासो गरेका छन् । उनका अनुसार स्थानीयले अहिलेपनि खानेपानीको समस्या भोगिरहेका छन् ।
आयोजनाको नाममा ठूलो आर्थिक अनियमितता भएको उनको भनाई छ । ‘यहाँ राज्यको सम्पत्तिको व्यापक दुरुपयोग भएको छ । कि त आयोजनाका पदाधिकारीले बद्मास गरेको हुनुपर्छ कि उपभोक्ता समितिले । करोडौं खर्च भएको छ तर स्थानीयको धारामा पानी आउँदैन । यत्रो लगानी गरेपछि स्थानीयले बाह्रैमास पानी खान पाउनुपर्यो नि । उस्तै बोकेर खानुपर्ने बाध्यता छ । करोडौं लगानी वालुवामा पानीझैं भएको छ’, उनले भने ।
आयोजनाबारे अध्यक्ष लामिछाने र वडाध्यक्ष चपाईंबाहेक अरु कसैलाई पनि जानकारी नभएको उनले बताए । उनले सार्वजनिक सुनुवाईबारे आफूलाई कुनै अत्तोपत्तो नभएको पनि सुनाए । भन्छन्, ‘सार्वजनिक सुनुवाई भएको भन्नेचाँहि थाहा पाएँ । तर, कहिले भयो मलाई थाहा छैन । सुनुवाईमा त दलका नेता, स्थानीय सबैलाई बोलाउँथे । कसैले थाहा नपाउने गरी सुनुवाई सकाएछन् । सामान कति हो ? कति खर्च भयो ? मलाई केही जानकारी भएन । कहिल्यै बैठक पनि राखेनन्।’
सबैको उपस्थितिमा सार्वजनिक सुनुवाई गरेका हौं :अध्यक्ष लामिछाने
आयोजनाका अध्यक्ष लामिछानेले सबैको उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको दाबी गरेका छन् । गत भदौ ९ गते गरिएको सार्वजनिक सुनुवाईमा स्थानीयलगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको उनको भनाई छ । त्यस्तै, पाँच सय घरधुरीमध्ये ४५५ वटामा धारा जडान गरिसकेको जानकारी पनि दिए ।
उनका अनुसार ४३ स्थानमा बाँध बाँध्नुका साथै मीटर जडानको कार्य सम्पन्न भइसकेको छ । उनले भने, ‘३७ वटा समितिमार्फत् काम गरेका हौं । सबै काम सकिसकेको छ । अब बत्ती र मेसिन जडानको काम मात्रै हुन बाँकी छ । बजेट नभएर त्यो रोकिएको छ । त्यसपछि सबैको घरमा नियमित पानी आउँछ । सार्वजनिक सुनुवाईको हकमा सबैको उपस्थितिमा छलफल गरिएको छ । कसले के भने त्यो मेरो सरोकारको विषय भएन’, उनले भने ।
टिप्पणीहरू