आत्मदाहको चेतावनीपछि पेरिसडाँडा गएका लडाकु सिंहदरबार फर्के
नेकपा माओवादीका पूर्व लडाकु रेशम घिमिरे र मञ्जु धमलाले सिंहदरबारको दक्षिण गेटमा धर्ना कसेका छन् । उनीहरुले जनयुद्धका घाइतेहरुलाई सरकारले उपचारको व्यवस्था गर्नुपर्ने माग राख्दै अन्यथा आत्मदाहको चेतावनी दिएका छन् ।
सिंहदरबार छिर्न गृह मन्त्रालयले पास दिएपनि दक्षिण ढोकामा रोकेपछि आफूहरु त्यहिँ धर्नामा बसेको बताए । धमलाले भनिन्, ‘हामी दुई जना होइनौं, सवा सय छौं ।’
सिंहदरबार क्षेत्रलाई निषेधित घोषणा गरिएकाले धर्ना बस्न नमिल्ने प्रहरीको भनाई छ । तर, घिमिरेले आफूहरु उपचारको निम्ति कागजात बोकेर आएको जानकारी दिँदै वर्तमान सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

पार्टीको नाम सुदीप रहेका उनले भने, ‘आफ्नो प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्री हुँदा पनि उपचार नगरे आत्मदाह गर्नेछौं ।’
त्यसअघि उनै घिमिरे माओवादी कार्यालय पेरिस डाँडा गएका थिए भने धमला सिंहदरबारको गेट छेउमा पलेटी कसेर बसेकी थिइन् । प्रहरीले निषेधित क्षेत्रमा धर्ना र बिरोधको कार्यक्रम नगर्न पटक पटक सम्झाएको थियो । त्यसबीचमा घिमिरे पुनः सिंहदरबार छेउमा आइपुगेका हुन् ।
टिप्पणीहरू