काठमाडौंका कुकुरमा देखियो डिस्टेम्पर रोगको संक्रमण

काठमाडौंका कुकुरमा देखियो डिस्टेम्पर रोगको संक्रमण

राजधानीका केही सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको छ । काठमाडौं महानगरपालिकाले समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको जानकारी दिएको छ ।

महानगरको पशुपन्छी विभाग प्रमुख अवधेश झाका अनुसार यो रोग एउटाबाट अर्को कुकुरमा सजिलै सर्छ । तर, कुकुरबाट मान्छेमा भने सर्दैन । कुकुरहरुका लागि यो प्राणघातक रोग भएको बताइएको छ ।

‘रोग लागेका कुकुरहरुलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिंगान र आँखामा चिप्रा देखिनेलगायत लक्षण हुन्छ,’ उनले भने, ‘खोक्ने, वान्ता गर्ने, पातलो हग्ने, छारे रोगजस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, किटकिट गरेर दाँत टोक्ने यो रोगका लक्षण हुन् ।’

झाले रोगको लक्षण देखिएपछि रोकथामका कार्यक्रम समेत थालिएको जनाए । साथै, नजिकका सामुदायिक कुकुरमा यस्ता समस्या देखिए महानगरमा सम्पर्क गर्न समेत उनको अनुरोध छ । 

यो रोग कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घर पालुवा कुकुर बाहिर नलैजान र कुकुरलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू