मन्त्रीहरुले कार्यसम्पादनमा कति पाउलान् मार्क ?

मन्त्रीहरुले कार्यसम्पादनमा कति पाउलान् मार्क ?

२०७९ साल पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ११ महिना पुग्यो । तेस्रो पटक कार्यभार सम्हालेकै दिन उनले अघिल्ला दुई कार्यकाल सिक्दैमा बित्यो, अब देशको लागि केही गर्छु भनेका थिए ।

तर, भनेको कुरा नगर्ने नेता हुन् भन्ने पुष्टि गरिछाडे । यसबीच काम गर्छु भनेका प्रधानमन्त्री हरेक दिन भाषणमै व्यस्त भए । सरकारको कामकारबाही अस्तव्यस्त भयो । कांग्रेससँग गठबन्धन गरेर गत वर्ष मंसिरमा प्रतिनिधिसभातर्फ ३२ सिट जितेको पार्टीका अध्यक्ष नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भए । त्यही बेला मन्त्रिपरिषद् इन्द्रेणी बन्यो । इन्द्रेणी देखिनलाई सुन्दर हुन्छ तर त्यसको उपयोग हुन्न । मन्त्रिपरिषद् पनि त्यस्तै भयो आमा नागरिकका लागि । 

प्रचण्ड राष्ट्रपति निर्वाचनको लागि पुरानै गठबन्धनमा फर्किए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए । सरकार छाडे  । सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादी थपिए । मन्त्रिपरिषद् फेरि अर्को इन्द्रणी बन्यो । काम त उही हो । देखिने सुन्दर तर जनताले उपभोग गर्न नसक्ने, लाभ लिन नपाउने ।

२०७९ पुस ११ यता प्रचण्ड नेतृत्वको सरकार ११ पटक पुनर्गठन भइसकेको छ । नेपालको संविधानले मन्त्रिपरिषद् २५ सदस्यबाट बढ्न नहुने व्यवस्था गरेको छ । अहिले पनि २५ सदस्यीय नै छ । तर को–को मन्त्री छन् भन्ने थोरैलाई मात्र थाहा छ । एक पटक मन्त्रिपरिषद् सदस्य र कार्यविभाजन हेरौं ।

१. पुष्पकमल दाहाल प्रचण्ड           प्रधानमन्त्री    
२. पूर्णबहादुर खड्का                   उपप्रधानमन्त्री एवं रक्षा        

३. नारायणकाजी श्रेष्ठ                    उपप्रधानमन्त्री एवं गृह        
४. बेदुराम भुसाल                            कृषि तथा पशुपक्षी विकासमन्त्री        
५. धनराज गुरूङ                   कानुन, न्याय तथा संसदीय मामिलामन्त्री        
६. अशोककुमार राई              शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री        
७.  शरत्सिंह भण्डारी              श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री        
८. प्रकाशशरण महत                  अर्थमन्त्री        
९. महिन्द्रराय यादव                  खानेपानीमन्त्री        
१०.शक्तिबहादुर बस्नेत     ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री        
११. नारायणप्रकाश साउद         परराष्ट्रमन्त्री        
१२. रेखा शर्मा                     सञ्चार तथा सूचना प्रविधिमन्त्री        
१३. मोहनबहादुर बस्नेत             स्वास्थ्य तथा जनसंख्यामन्त्री        
१४. सुदन किराती          संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री        
१५. प्रकाश ज्वाला         भौतिक पूर्वाधार तथा यातायातमन्त्री        
१६. रञ्जिता श्रेष्ठ                  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री    
१७. रमेश रिजाल                  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री        
१८.  सीता गुरूङ                    शहरी विकासमन्त्री    
१९.  डिगबहादुर लिम्वु               युवा तथा खेलकुदमन्त्री        
२०. सुरेन्द्रराज आचार्य               महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री    
२१. वीरेन्द्रप्रसाद महतो                वन तथा वातावरणमन्त्री        
२२ .अनिता देवी                     संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री    
२३. सुशीला सिर्पाली ठकुरी        संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री        
२४. नन्दा चपाईं              भौतिक पूर्वाधार तथा यातायातराज्यमन्त्री        
२५ प्रमिला कुमारी              शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री

यीमध्ये केही मन्त्रीको नाम धेरैलाई थाहा छ । धेरैलाई नाम थाहा हुनुको अर्थ राम्रो काम गरेको भन्ने हैन ।  स्टण्ट र काण्डले मन्त्रीहरू चर्चामा आए । कामले चिनिने मन्त्री त शून्य नै भए ।  अब एक पटक संक्षेपमा हेरौं चर्चामा आएका मन्त्रीका काम । 

संसदीय गणितका हिसाबले प्रचण्ड प्रधानमन्त्री हुने अंक थिएन । तर, तेस्रो ठूलो दलको नेता प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनु नै ठूलो उपलब्धि देखियो । प्रधानमन्त्री स्वयंले स्वीकारेको तथ्य हो यो । एक महिना पनि टिक्दैन भन्थे साथीहरू, एक वर्ष हुनै लाग्यो भन्ने अभिव्यक्तिले प्रधानमन्त्री हुनु नै उपलब्धि देखियो । स्वदेशमा हुँदा दिनहुँ भाषण । विदेश भ्रमण । यस्तै यस्तैमा बित्यो, प्रधानमन्त्रीको एक महिना । कार्यशैली नसुध्रिए तेस्रो कार्यकालको उपलब्धि त्यत्तिमै सीमित हुनेछ । 

अहिलेको सरकारमा प्रधानमन्त्रीपछि सबैभन्दा बढी सुनिएको नाम हो तीन नम्बर वरियतामा रहेका  गृहमन्त्री नारायणकाजी श्रेष्ठको । गृहमन्त्री भएपछि श्रेष्ठले ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतको फाइल खोलेर भ्रष्टचारीलाई नछाड्ने उद्घोष गरे । छानबिन अघि बढ्दै जाँदा सत्ता साझेदार कांग्रेस नेताहरू नै यी  प्रकरणमा जोडिएपछि गृहमन्त्रीको नाडी कत्ति बलियो रहेछ भन्ने छाम्नै परेन । त्यहीबीच अवैध सुन तस्करी प्रकरण आयो । त्यसमा त झन माओवादीकै नेताहरूको नाम मुछियो अनि गृहमन्त्रीको नौनाडी फतक्कै गल्यो । काममा सुपर फ्लप भएपछि  गृहमन्त्री श्रेष्ठको सुशासनको गफ पनि हरायो । 

सरकारमा रहेका अर्का उपप्रधानमन्त्री हुन् पूर्णबहादुर खड्का । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासमात्र खड्कासँगै सरकारमा पार्टी जान तम्तयार भएका अर्का नेता थिए प्रकाशशरण महत । दुबै नेताबीच अर्थमन्त्रालय कसले लिने भन्ने लडाईं थियो । महतले अर्थ मन्त्रालय टप्काएपछि खड्काको भागमा रक्षा मन्त्रालय प¥यो  । खड्काले  सम्हालेको रक्षा मन्त्रालय मातहत पर्ने नेपाली सेनामा यही बेलामा भद्रगोल भयो । तर, मन्त्री खड्का अहिले जाजरकोट भूकम्पपछि उतै भेटिने गरेका छन् ।  अर्थशास्त्र पढेका महतले अर्थतन्त्रलाई सही बाटोमा हिँडाउँछन् भन्ने लाग्नेलाई केही समयमै निराश बनाए । अर्थमन्त्रीको काम गभर्नरसँग बाझाबाझ गरेर बित्यो । फुर्सद हुँदा विदेश भ्रमणमा भेटिए महत । 

सरकारमा रहेका अर्का हाइप्रोफाइल नेता धनराज गुरुङले कानुन मन्त्रालय सम्हालिरहेका छन् । सम्हालेको पनि के भन्नु ओगटिरहेका छन् । कानुनमन्त्रीको प्रस्तुति बुझ्न संसद्को दुई वटा अधिवेशन हेरे स्पष्ट हुन्छ । अर्थात् पछिल्लो अधिवेशनबाट एउट मात्रै ऐन बन्नु कानुनमन्त्री अक्षम हुनुको अर्को दृष्टान्त हुन सक्दैन । केही नेपाल ऐन संशोधनका नाममा जघन्य अपराधमा जोडिएकालाई राजनीतिक आन्दोलनका आवरणमा उन्मुक्ति दिन खोज्नु, त्रिविका सहप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघका कार्यकर्ताले कुटपिट गरेको घटनामा दिएको अभिव्यक्तिले मन्त्री गुरुङको सोचाइको स्तर छताछुल्ल भएकै थियो । प्रचण्ड सरकारमा रहेका अर्का स्टन्टबाज मन्त्री हुन् पर्यटनमन्त्री सुदन किराती । किरातीले गर्नुपर्ने कामजति सबै  छाडेर नयाँ जहाज किन्ने र नयाँ एयरपोर्ट बनाउने सपना बाँडिरहेका छन् । त्यसबाहेक कहिलेकाहीँ अनुगमनका नाममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छ । 

कृषिमन्त्री बेदुराम भुसाल रासायनिक मल समयमै उपलब्ध गराउन नसक्ने लाचार अभिव्यक्ति दिन र लम्पी स्किन पीडित किसानलाई राहत दिन नसक्ने निरीहता व्यक्त गर्नमै व्यस्त रहे । यातायातमन्त्री प्रकाश ज्वाला द्रुत बस सेवा शुरु गर्न र बन्द गर्नै रमाइरहे । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको दैनिकी सरुवा माग्ने कर्मचारीलाई डोरी किनिदिन र प्रा.डा. गोविन्द केसीसँग सिंगौरी खेल्दैमा बितिरहेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्न कानुन नै छैन । अरु त के कुरा गर्नु । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेकी छन् । तर उनको मुख्य काम आफ्ना पति एवं पार्टी संरक्षक रेशम चौधरीको रिहाइका लागि राजनीतिक बार्गेनिङ गर्नु मात्रै रह्यो । अब कैद मिनाहमाफीविरुद्ध परेको रिटलाई सत्ताको आडमा कमजोर बनाउनुमा केन्द्रित हुने देखिन्छ । यीबाहेक पनि मन्त्रीहरू छन् । तिनका काम झण्डा हल्लाउने, जागिर पकाउने भन्दा माथि उठ्न सकेको छैन ।
 

टिप्पणीहरू