फेसबुकमा केपी ओली, दिमागमा गैँडालाई गोली ?

फेसबुकमा केपी ओली, दिमागमा गैँडालाई गोली ?
सुन्नुहोस्

कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुईवटा पोथी गैँडा शिकारीले मारेको भेटियो । खाल्डो खनेर गैँडालाई फसाउने र फसेको गैँडालाई मारेर खाग काटी लैजाने उनीहरूको तरिका थियो । 

घटनाले राष्ट्रिय रूपमा चर्चा पायो । लगत्तै निकुञ्ज, नेपाल प्रहरी, नेपाली सेना सबै अलर्ट भए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शिकारीहरूलाई एकपछि अर्काे गर्दै तान्दै लग्यो । र, सबै समातिएपछि मात्रै मंसीर १५ गते उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । 

तीमध्ये मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङका ४४ वर्षका समशेर थिङ पनि छन् । हेटौँडा ४ मा बस्दै आएका उनी खाग बेच्ने सहयोगीको रूपमा रहेको निकुञ्जको दाबी छ । थिङ द्वन्द्वपीडित समूहका नेता नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य हुन् । हाल विभागीय जिम्मेवारीमा रहेका थिङ नेकपा एमालेको नेताका रूपमा पश्चिम मकवानपुरमा सक्रिय थिए । अहिले पनि उनको फेसबुक आइडीमा एमाले अध्यक्ष केपी ओलीले हात हल्लाइराखेको प्रोफाइल तस्बिर छ एमालेकै कार्यक्रमका अधिकतम फोटो छन् । 

‘राजनीतिक र सामाजिक रूपमा काम गरिरहेको रूपमा हामीले बुझेका थियौँ’, राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार बाल्पा भन्छन्–‘यस्तो जघन्य क्रियाकलापमा लागेको मिडियाबाट सुन्दा अचम्मित भयौँ ।’ राजनीतिका अलावा द्वन्द्वपीडित समूहको नेता, नेपाल रेडक्रस सोसाइटीलगायत सार्वजनिक संघसंस्थामा थिङको आबद्धता थियो ।

थिङसहितलाई ६ जनालाई मंसिर ९ गते चितवनको राप्ती नगरपालिका–६ र मंसिर ११ गते अन्य दुई जनालाई अन्यत्रबाटै पक्राउ गरिएको जानकारी चितवन राष्ट्रिय निकुञ्जले दिएको छ । पत्रकार सम्मेलनमा शिकारीले ग्राहकबिनै गैँडा मारेको र गैँडा मारेर खाग झिकिसकेपछि बिक्रीका लागि अनेक तरिका अपनाइरहेको बेला सिआइबीका अधिकृत पैसा बोकेर खाग किन्न पुगेको र पक्राउ गरिएको जनाइएको छ । 
 

टिप्पणीहरू