एमाले अखिलको माग : प्रधानमन्त्री पुत्रीमाथि लागेको आरोप छानबिन गरियोस्

एमाले अखिलको माग : प्रधानमन्त्री पुत्रीमाथि लागेको आरोप छानबिन गरियोस्

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई जोडेर लगाएको गम्भीर आरोपमाथि छानबिन गर्न माग गरेको छ । 

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीले सिंहको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री, मन्त्री र सचिवालयमा नियुक्ति लिएका सदस्यहरु जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको प्रष्ट हुने बताएका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्यले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेको र त्यो सबै अडियो तथा भिडियो प्रमाण आफुहरु सुरक्षित रहेको र समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्य भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

उक्त कार्य समग्रमा राष्ट्रको शिर निहुराउने लज्जाको विषय रहेको ठहर गर्दै अनेरास्ववियुले बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जोकोहीमाथि छानबिन गरिनुपर्ने माग गरेको छ ।

साथै, शक्तिको आडमा छानबिन तथा अनुसन्धान प्रक्रिया अघि नबढाए भ्रष्टाचार, अनियमितता र कमिशनतन्त्रको भण्डाफोर गर्न सरकारविरुद्ध कडाभन्दा कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ ।

टिप्पणीहरू