पूर्व गृहमन्त्रीलाई जेलबाहिरै बसेर मुद्दा लड्ने सुविधा

पूर्व गृहमन्त्रीलाई जेलबाहिरै बसेर मुद्दा  लड्ने सुविधा
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण धरौटीमा रिहा हुने भएका छन् । 

आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्ने आदेश सुनाएको हो ।  

यस प्रकरणमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले खाँणलाई थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध पुनरावेदन गर्न उनी  उच्च अदालत पुगेका थिए । 

पुनरावेदनमाथि मङ्सिर १५ गते सुनुवाई भएकोमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । न्यायाधीश पाण्डेले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर, अर्का न्यायाधीश खरेलले अहिले नै निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउन नसकिने जनाएका थिए ।

 

त्यसैले आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाई तोकिएकोमा न्यायाधीश कोइरालाले जनक पाण्डेको रायलाई समर्थन गरेपछि खाँण थुनामुक्त हुने भएका हुन् । खाँणलाई थुनामुक्त गर्नुपर्छ भन्ने दुबै न्यायाधीश कांग्रेस निकट मानिन्छन् । 

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी भने थुनामै छन् ।

टिप्पणीहरू