तपाईंलाई पनि विदेशबाट गिफ्ट आयो ?

तपाईंलाई पनि विदेशबाट गिफ्ट आयो ?

शुरुमा ‘प्रलोभन’ देखाउने, अनि औँलो दिँदै गएपछि ‘डुडुल्नो’ नै निल्ने नयाँ प्रकृतिका ठगीधन्दा ‘भाइरस’को रूपमा विकसित हुँदै छ । सामाजिक सञ्जालको जञ्जालमा परेर ठगिनेहरू बढिरहेका छन् । यसरी ठगिएका युवा/युवतीदेखि प्रौढहरू कोही साइबर ब्युरो त कोही अपराध अनुसन्धान महाशाखातिर ‘चक्कर’ लगाइरहेका छन् । गत शुक्रवार यस्तै एक युवा भेटिए अपराध अनुसन्धान महाशाखामा । प्लस टु पार गरिसकेका, कोरिया एक पटक चक्कर लगाएर फर्किसकेका सोलुखुम्बुका इमान राई ब्राण्डेड आइफोनको चक्करमा पर्दा नराम्रोसँग ठगिएँ भन्दै अहिले जाहेरी बोकेर प्रशासन र प्रहरी कार्यालयतिर भेटिन्छन् ।

तीन दाजुभाइमध्ये कान्छो । गाउँबाटै प्लस टु सकाएर भित्रिए ०७२ सालमा राजधानी । ०७४ सालमा भिजिट भिसामा कोरिया गए । पुतलीसडकको इन्स्टिच्युटमा कोरियन भाषा शिक्षकको काम गरिरहेका थिए । सिंगो देश दशैं, तिहार, छठलगायतको उल्लासमा रमाइरहेको बेला मोबाइलमा टोनी ब्यारी नामबाट फ्रेण्ड रिक्वेष्ट आयो । ‘हाई, हेल्लो’ शुरु भयो, टोनीले आफू युकेमा बस्दै आएको र पेशाले डेन्टिस्ट बताउँथे । दुई/तीन साता यस्तै हाई, हेल्लोमै सीमित रह्यो । एक दिन नाम, मोबाइल, ठेगानालगायतका पूर्ण विवरण मागे । राम्रोसँग परिचय नै नभएको व्यक्तिलाई किन दिनु परिचय ? केही डिस्कस पर्‍यो । उनले त्यहाँबाट भिडियो कलमै आइफोन देखाए र भने– तिहारको समयमा म तिमीलाई यो गिफ्ट गर्न चाहन्छु । त्यही कारण मलाई तिम्रो पूर्ण विवरण चाहिएको हो । शर्त तेस्र्याइएको थियो– डेलिभरी गर्ने व्यक्तिले भनेअनुसारको निर्देशनचाहिँ पालना गर्नु । 

आज एउटालाई ६३ हजार ठग्याे । भाेलि उसैगरी अर्काेलाई लाख, लाख ठग्ला । के प्रहरी प्रशासन अपराधलाई टुलुटुलु हेरेर बस्नका लागि मात्र खडा गरिएकाे हाे ?

अर्काे दिन आइफोन, गोल्डलगायत केही सामान देखायो उसैले र सोध्यो, ‘तिमीलाई के मन पर्छ ?’ मैले ‘आइफोन’ भनें । केही दिनपछि उसले आइफोन पठाइदिएको छु भन्यो । एक दिन क्लासमै हुँदा ह्वाट्स एपमा सेभ नभएको नयाँ नम्बर ९८२१७४२९११ बाट कल आयो । उताबाट आवाज आयो, ‘तपाईंलाई युकेबाट टोनी ब्यारीले पठाएको पार्सल पोखरा विमानस्थलमा आइपुगेको छ ।’ उनलाई शंका लाग्यो– काठमाडौं झर्नुपर्ने पार्सल पोखरा किन पुग्यो ? उसको जवाफ थियो, ‘हाम्रो काठमाडौं र पोखराको कुरिअर अफिस मर्ज भएकाले पोखरामा छ । सामान लिने हो भने डेलिभरी चार्ज ६३ हजार तत्काल पठाउनु । एक दिन क्लासमै हुँदा उसले मोबाइल नम्बर र ग्लोबल आइएमई बैंकको खाता नम्बर पनि टिपायो । यो गत मंसिर ३ गतेको कुरा हो ।

हरजिन्दर महतोको नाममा खाता नम्बर ३१३०७००१००१७१६१ मा पञ्चपोखरी मोबाइल सेन्टरको इ सेवा आइडी ९८१८६६१७९० मार्फत तत्कालै ५० हजार र अर्काे पटक १३ हजार गरी हालिदिए । यसरी विदेशबाट आइफोन आएको र सोबापतको डेलिभरी चार्ज पठाउन लागेको कुरा उनी र पेशाले नर्स श्रीमतीबाहेक अरुलाई थाहा छैन । केही क्षणपछि अर्काे फोन आयो– भनियो ‘तपार्इंको पार्सल स्क्यान गरेर हेर्दा यसभित्र सुन, डलरलगायत बहुमूल्य सामान देखिएको हुँदा जिएसटीका लागि थप ४ लाख ८५ हजार तत्काल पठाइदिनु ।’ फेरि पैसा मागिएपछि उनको मनमा चिसो लाग्यो । सुनकाण्डमा दैनिक मान्छे समातिएका समातियै छन्, कतै आफू पनि फस्दै त छैन भन्ने शंकाले डेरा जमायो ।

टोनीलाई कल गर्दा रिङ जान्छ तर फोन उठ्दैन । कार्यालयबाट छुट्टी मिलाएर सिधै हान्निए पोखरा र उक्त कार्गोमा पसें । केही पार्र्सल आएको छ कि भनेर सोधखोज गरे । त्यहाँबाट कुनै पार्सल नभएको जवाफ मिल्यो । फरेन डिपार्टमेन्टमा गएर सोधखोज गरे । पोखराको कार्गाे अफिसहरू चहारे । कतैबाट पनि सामान नआएको थाहा लाग्यो । जिन्दर महतोलाई पोखराबाटै कल गरेर भनियो– तिमीले मलाई ठगिरहेका रहेछौ । यहाँ कुनै पार्सल छैन । तत्काल ६३ हजार रकम फिर्ता गरिदिनु ।’ त्यसपछि फोन कट्यो । टोन्नीलाई सामाजिक सञ्जालबाट पटक–पटक सम्पर्क गर्दा पहिला रिङ जानेबित्तिकै उठ्थ्यो फोन, अब उठ्न छाड्यो । छाँगाबाट खसेझैँ भएँ । हरजिन्दरले उसैगरी मोबाइल नम्बरदेखि सामाजिक सञ्जालमा समेत ब्लक हानेपछि थाहा लाग्यो– ठगिएछु । 

शिक्षित मान्छे त यसरी ठगिन्छन् भने अरु शिकार नबनुन् भनेर निवेदन बोकी प्रहरीकोमा पुगे । तर, त्यहाँ त यस्ता उजुरी दैनिक पाँचदेखि दश वटा आउँदो रहेछ । विषय यति गम्भीर छ तर प्रहरीहरू भन्छन्– समय लाग्छ । यसरी बैंक खाता, मोबाइल नम्बरसहित विवरण दिँदा प्रहरी प्रशासनले बैंकको सहयोग लिएर नेपाली दाजुभाइ ठग्नेहरूलाई तत्काल अँठ्याउन सक्नुपर्ने हो । पोखरा पुगेको भनिए पनि हरजिन्दरलाई हालिदिएको ६३ हजार रकम काठमाडौं गोङ्गबुबाट निकालिएको छ । यसले अपराधीहरू संगठित रूपमा काठमाडौंमा बसेर दैनिक युवा/युवतीलाई मुर्गा बनाइरहेको पुष्टि हुन्छ ।

भन्छन् नि आज सियो चोर्नेले भोलि फलाम चोर्छ अनि भोलि फलाम चोर्नेले पर्सि घर फोर्छ । आज एउटालाई ६३ हजार ठग्यो । भोलि उसैगरी अर्काेलाई लाख, लाख ठग्ला । अपराध अनुसन्धान महाशाखामै कोही ५ लाख, कोही ९ लाख ठगिएको भन्दै निवेदन बोकेर पुगेका छन् । कोही सुनको लोभमा ठगिएँ भन्नेहरु पनि भेटिए । ठगहरूले केही न केही प्रमाण र सबुद त छोडेकै हुन्छन् । क्लुलाई पछ्याउँदै जाने हो भने अपराधी र ठगहरूलाई अँठ्याउन गाह्रो नहुनुपर्ने हो तर के प्रहरी प्रशासन अपराधलाई टुलुटुलु हेरेर बस्नका लागि मात्र खडा गरिएको हो ?

होइन भने सामाजिक सञ्जालको माध्यमबाट अपराध बढ्दै जाने तर प्रहरीहरू त्यसलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था किन र कसका कारणले आयो ? कि टिकटक बन्द गरेझैं, ह्वाट्सएप, भाइबर र फेसबुक पनि बन्द गरेर समस्याको समाधान हुने हो ? कतिपय मुलुकमा भुइँमा, कपडामा भेटेको रगतको डिएनए परीक्षण गरेर मृत्युदण्डको सजायँ सुनाएको देखेका छौं तर हाम्रो अपराध महाशाखाका हाकिमलाई फेसबुक, ह्वाट्सएप नम्बर, बैंक खाता नम्बरसमेतका प्रमाण पेश गर्दा पनि किन तत्काल समात्न सक्दैनन् ? यसरी संगठित दस्ताले ठूलो मात्रामा नेपाली दाजुभाइ ठगिरहेको देखिन्छ । खै प्रहरीको तादरुकता ?

– इमानसिंह राई, हाल चाबहिल 
 

टिप्पणीहरू