चन्द्रागिरीमा खैरो हिरोइन, पथलैयाबाट गाँजा बरामद

चन्द्रागिरीमा खैरो हिरोइन, पथलैयाबाट गाँजा बरामद

काठमाडौंको चन्द्रागिरीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–२ बस्ने २७ वर्षीय राजन योगी समातिएका हुन् । 

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, नागढुंगाबाट खटिएको संयुक्त टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट आज बिहान १ ग्राम ८४ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीका अनुसार बा.प्र.०१–००१ ख २७७७ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनी खैरो हिरोइनसहित फेला परेका हुन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ । 

यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाबाट प्रहरीले ३६ केजी गाँजा बरामद गरेको छ । 

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले स्थानीय सर्भिस लाइनमा पार्किङ्ग गरी राखेको डिएल ४ सीएनबी ३६८१ नम्बरको जिप खोजतलास गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो ।

टिप्पणीहरू