सन्दीपको मुद्दा न्यायाधीश ढकालको इजलासमा

सन्दीपको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दा पेशी चढेको हो । 

अन्तिम चरणमा रहेको मुद्दा पटक–पटक स्थगित हुँदै आएको छ । यसअघि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको थियो । 

उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि उनी रिहा भएका थिए । 

शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते अर्को आदेश दिएको थियो । 

तर, किशोरीको उमेर यकिन नहुँदा अड्किँदै आएको मुद्दा अझै छिनोफानो हुन सकेको छैन । आज सुनुवाई भए अन्तिम फैसला आउने अनुमान गरिएको छ ।

टिप्पणीहरू