बेलायतमा आमा छोरी मिलेर यतिसम्म लुट

बेलायतमा आमा छोरी मिलेर यतिसम्म लुट

लामो समयदेखि बेलायत बस्दै आएका ५७ बर्षिय गंगाबहादुर बस्नेतलाई उनकै श्रीमती दुर्गादेवी ढुंगानाले झुक्याएर डेढ करोड रुपैंया नेपाल हुण्डी गर्दा उनको पारपाचुके मात्रै भएन, अहिले फाइल सम्पति शुद्धीकरणमा पुगेको छ ।

काठमाण्डौं जिल्ला नागार्जुन न.पा. वडा नं. ४ घर भई हाल संयुक्त अधिराज्य बेलायत बस्ने गंगा बहादुरले गत २०७९/१०/१५ गते श्रीमती दुर्गादेवीले झुक्याएर हुण्डी गरेको भन्दै शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा फाइल दर्ता गराएका हुन् ।

बस्नेतका अनुसार, श्रीमती दुर्गादेवीले आफुलाई झुक्याएर हुण्डी गरेको र आफू पीडित भएको भन्दै न्यायका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा उजुरी दिएका छन्। बस्नेतकी श्रीमती दुर्गादेवी हाल दुई छोरीका साथ संयुक्त अधिराज्य बेलायतमा छिन् ।

गंगा बहादुरले दुर्गादेवी विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाही गरी पाउँ भनी दिएको निवेदन जस्ताको तस्तै यहाँ प्रस्तुत छ-

‘म उजुरवाला गंगा बहादुर बस्नेत सन् १९९० मा बेलायतमा गइ बेलायतमै बसोबास गरेको छु । दुर्गादेवी ढुंगानासँग मेरा साथी कृष्णप्रसाद सिम्खडामार्फत सन् २०१४ अप्रिलमा चिनजान भएको हो। निजले आफू अविवाहित रहेको र इमान्दार केटा पाए विवाह गर्ने भनी मसंग भनेको र निज दुर्गादेवी गैह्रकानूनी रुपमा बेलायतमा बसेकी हुँदा मैले नेपाली चेली भएको हुनाले निजसँग विवाह हुनु भन्दा अगाडि निजलाई आवश्यक पर्ने रकम १०,००० पाउण्ड दिएको थिएं । सो विवाहका लागि निजले आफू अविवाहित रहेको भनी नेपालबाट सिफारिस ल्याई लण्डनस्थित ब्रेन्ट काउन्सिलमा पेश गरी विवाहको अनुमति प्राप्त भई विवाह भएको थियो । विवाह भए पश्चात म संग भएको रकम आफ्नो हातमा पारी मलाई छाडेर उनी बाहिर बाहिर हिड्न थालिन् । पछि बुझ्दा निजले महोत्तरी जिल्ला बर्दिबास न.पा. वडा नं. ६ निवासी मोहनप्रसाद पोख्रेलसँग २०५२/०१/१५ मा नै विवाह गरी दुई छोरीहरु कञ्चन पोख्रेल र ममता पोख्रेल समेत रहेछन् । निजले मलाई विभिन्न प्रलोभनमा पारी पटक पटक गरी म बाट नेपाली रु.५,००,००,०००/- (पाँच करोड भन्दा बढी रकम) बराबरको बेलायती पाउण्ड लिई नेपालमा निजका ईष्टमित्र नातेदारका नाउंमा पठाएकी रहेछन्। विपक्षी र मेरो नाउंमा बेलायतस्थित BARCLAYS Bank मा बैंक खाता रहेकोमा बैंक खाताको कोर्ड न. हरु सबै निजलाई थाहा भएको हुँदा निजले मेरो सहमति, मन्जुरी बिना मलाई थाहा जानकारी नै नदिई सो खाताको रकम मुद्दतिमा जम्मा गराई पुनः अनलाईन खाता BARCLAYS Bank App बाट पैसा ट्रान्सफर गरी निजले ६८५,००० रकम बेलायतस्थित Union Nepal Service मार्फत निजको खाता रहेको नेपाल स्थित सानिमा बैंक लि. को खातामा रकम पठाई पुनः सो रकम नेपालका विभिन्न व्यक्तिका खातामा रकम जम्मा गरेकी रहेछन् । 

निजले मलाई थाहा जानकारी नदिई ३ जुन २०१९ मा £ २५०००, ४ जुन २०१९ मा £ २५०००, १० जुन २०१९ मा १०,००० २५००० गरी जम्मा ८५,००० रकम गैरकानूनी रुपमा ट्रान्सफर गरी नेपालमा पठाएकी र अन्य व्यक्तिहरुसँग मिलेर रकम नेपाल पठाउने र बेलायतमा ल्याउने गरी हुण्डीको कारोबारमा समेत संलग्न रहेकी छिन् । यसरी किर्ते ठगीजन्य कसुर गरी सो रकम गैह्रकानूनी रुपमा बेलायतबाट नेपालमा ट्रान्सफर गरी रकम लुकाएको र सो रकमहरु कन्चन पोख्रेलको सानिमा बैंक लि. मा रु. २८,००,०००/- (अठ्ठाईस लाख), सुश्री ममता पोख्रेलको सिद्धार्थ बैंक लि. मा रु.२८,००,०००/- (अठ्ठाईस लाख), त्यसैगरी, निज दुर्गाको भाई गणेश ढुंगानाको नाममा झापामा सुन पसलमा लगानी गरेको निजको बहिनी धनमाया ढुंगाना, बहिनी ज्वाई प्रवेश गौतम, बहिनी जुन ढुंगाना पोख्रेल र धनमाया ढुंगानाको मिलेमतोमा रकम जम्मा गरेको अवस्था छ । 

यसरी निज दुर्गादेवी ढुंगानाको पहिला विवाह गरी छोराछोरी रहेको तथ्य समेत ढाँटी मलाई झुक्याई मसँग विवाह गरेको नाटक गरी म बाट करोडौं रुपैयाँ ठगी गरी गैह्रकानूनी रुपमा कतिपय रकम हुण्डीमार्फत र कतिपय रकम बैंक एपबाट नेपालमा ट्रान्सफर गरी आफ्ना व्यक्तिहरुको नाउंमा जम्मा गरी आफन्तका नाउँमा जग्गा खरिद गरी राखेकी र व्यापार व्यवसायमा लगानी गर्ने हुँदा निज दुर्गा देवी ढुंगाना र निजको मिलेमतोका व्यक्तिहरुको सम्पत्ति समेत छानविन गरी ठगी तथा बैंकिङ कसूरबाट प्राप्त सम्पत्ति र त्यसबाट बढाएको सम्पत्ति समेतको छानविन गरी सम्पत्ति शुद्धीकरणको कसुरमा कारवाही गरी पाउँ भनी उजुरी दर्ता गरेको छु ।’

सम्पति शुद्धीकरणमा फाइल दर्ता न. ३१८५ रहेको गंगा बहादुर बस्नेतले जानकारी दिएका छन्।

टिप्पणीहरू