यहाँ एउटाले बिराउँछ, शाखा पिराउँछ
ललितपुरको खुमलटारस्थित डेरामा बस्दै आएका २५ वर्षीय कृष्णबहादुर कार्कीलाई कात्तिक १९ गते पानी बोक्ने ट्यांकरले ठक्कर दियो । लगनखेल चोकस्थित नमुना मच्छिन्द्र क्याम्पसमा मानविकी संकायअन्तर्गत बि.ए. तेस्रो वर्षमा अध्ययनरत उनलाई जयबहादुर थिङले चलाएको बा. २ ख ७३५४ नम्बरको ट्यांकरले हानेको हो ।
बेलुकी लगनखेलबाट हिँडेर डेरातर्फ जाँदै गरेका उनी आठ–नौ जनासहित ताल्छीखेलस्थित जेब्रा क्रसिङ्गबाट सडक पार गर्दै गर्दा अन्य व्यक्तिभन्दा केही पछि थिए । सोही क्रममा तीव्र गतिमा आएको ट्यांकरले हानेको हो । तत्काल ग्वार्कोस्थित बिएण्डबी अस्पताल पु¥याइएका अचेत उनको टाउकोको दायाँतर्फ मस्तिष्कमा रगत जम्नुका साथै कञ्चटको हड्डी अपरेशन गरी निकाल्नुपरेको थियो । बायाँतर्फ कुमको हड्डीमा मेटल प्लेट राखिएका उनको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सेनामा अमल्दार रहेका उनका सहोदर दाजु अनिश कार्कीले ललितपुर जिल्ला अदालतमा भाइको उपचारबापत लागेको खर्च र क्षतिपूर्ति माग गर्दै सवारी अंगभंगको मुद्दा दायर गरेका छन् । उक्त ट्यांकरको मेकानिकल चेकजाँच प्रतिवेदनमा दायाँतर्फ अगाडि पछाडिको साइडलाइट फुटेको र नबल्ने अवस्थामा रहेको, इण्डिकेटरमा स्वीच नभएको, गाडीको दायाँतर्फको भाग कुच्चिएको उल्लेख छ ।
बयानका क्रममा चालकले लाइसेन्सबिनै ट्यांकर चलाएको स्वीकारेका छन् । ‘बी’ वर्गको सवारी साधन चलाउने लाइसेन्स भएका उनले ‘एफ’ वर्गको ट्यांकर चलाउँदा जापान जाने तयारीमा रहेका विद्यार्थी अंगभंग भएका छन् । कैलालीको लम्कीचुहामा बसको ठक्करले केही दिनअघि एक पैदलयात्री मोहन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्मरबहादुर विष्टको मृत्यु भयो । पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका–२, गणेशपुरमा पूर्वतर्फ जाँदै गरेको ना.५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा ज्यान गुमाएका विष्टका आफन्त तथा स्थानीयले लम्की चोक अवरुद्ध गरेका थिए । मर्म जेसुकै भए पनि पीडित परिवारलाई थोरै क्षतिपूर्ति दिएर चालक उम्किने गरेका छन् । अधिकांश घटनालाई यातायात व्यवसायीले मिलापत्रमै टुंग्याउने गरेका छन् । मुलुकमा दुर्घटनाका कारण दैनिक सरदर ११ जनाले ज्यान गुमाइरहेका छन् । बस दुर्घटनामा एकै ठाउँ ३२ जनाले ज्यान गुमाएकोसम्म घटना छ ।
कलिला उमेरका किशोरहरूले समेत ठूला गाडी हाँकिरहेको पाइन्छ । टिपर चलाउने अधिकांश १८–१९ वर्षका छन् । क्षमताभन्दा ठूला गाडी चलाउनाले पनि दुर्घटना भइरहेको जानकारहरू बताउँछन् । टिपर चालकहरूले जहिलेपनि ‘हाईस्पीड’ मा गाडी चलाउने गरेका छन् । यता, गाडीमा सीट क्षमताभन्दा बढी यात्रु हाल्ने प्रवृत्ति छ । सार्वजनिक यातायातबीच जहिले पनि ‘कम्पिटिशन’ चलिरहेको हुन्छ । जसले दुर्घटना निम्त्याउनुका साथै अकालमा पैदलयात्रीको ज्यान लिइरहेको छ । प्रतिस्पर्धा गर्ने नाममा गाडी चालकहरू पैदलयात्रीले बाटो काटिरहेकोसमेत देख्दैनन् । अर्को कारण हो, गाडीको कण्डिसन । थोत्रा, पुराना र पार्टपुर्जा ठीक नभएका गाडीको मुलुकभर बिगबिगी छ । वर्षको दुई पटक यान्त्रिक परीक्षण गर्नुपर्ने नियम भए पनि यातायात व्यवसायीले टेरेको पाइन्न ।
एक वर्षमै दुई हजार जीवन स्वाहा
नेपाल प्रहरीका अनुसार सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७९–८० मा दुई हजार ३७६ जनाको मृत्यु भएको छ । त्यसमा एक हजार ७७९ पुरुष, चार सय महिला, ११५ बालक र ८२ बालिका छन् । त्यस्तै, पाँच हजार ७३८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । तीन हजार ९०२ पुरुष, एक हजार १३७ महिला, ४५३ बालक, २४६ बालिका सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन् । घाइते हुनेको संख्या २४ हजार ४८८ छ । यातायात अभियन्ता रामबहादुर थापा कडा कानुन नहुँदा हेलचेक्य्राइँ बढेको बताउँछन् ।
मान्छे मारेपनि जेल जान नपर्ने र लाइसेन्ससमेत खारेज नहुने भएकाले चालकहरूले लापरवाही गरेको उनको भनाइ छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाउने कतिपय परिवारले क्षतिपूर्तिसमेत पाउन नसकेको अवस्था छ । ‘सवारी साधनले सिधा ठक्कर दिएर कसैको ज्यान गयो भने आफन्तले पाँच लाख रुपैयाँ पाउँछन् । गाडीका यात्रुको मृत्यु भएमा जम्मा एक लाख रुपैयाँ दिइन्छ । अंगभंग भएकाले त उपचारै पाउन्न ।
गाडी साहुलाई कारबाही हुँदैन । त्यसैले पनि उनीहरूले लापरवाही गरिरहेका छन्’, उनले भने । माध्यमिक तह पूरा गरेका र २१ वर्ष नाघेकालाई मात्र लाइसेन्स दिनुपर्नेमा उनको जोड छ । ट्रायल पास नभएकाहरूले पैसा खुवाएर लाइसेन्स लिइरहेको थापाको दाबी छ । त्यस्तै, क्षतिपूर्ति र किरिया खर्च निकै कम भएको उनी बताउँछन् । सवारी दुर्घटनामा अंगभंग भएकाको आजीवन उपचार खर्च यातायात व्यवसायीले व्यहोर्नुपर्ने कानुन हुन्थ्यो भने सितिमिति कसैले मान्छे मार्दैनथे ।
टिप्पणीहरू