वरिष्ठ अधिवक्ताविरुध्द श्रीमतीले गुहारिन् अदालत,घरेलु हिंसाको आरोप

वरिष्ठ अधिवक्ताविरुध्द श्रीमतीले गुहारिन् अदालत,घरेलु हिंसाको आरोप
सुन्नुहोस्

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुध्द ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । श्रीमती जानकी पाण्डेले घरेलु हिंसा (मानसिक,शारीरिक,आर्थिक र यौनजन्य हिंसा) को रिट हालेकी हुन् । घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ दफा २ को (क), (ख), (ग), (घ), (ङ), (च) र दफा ३ अन्तर्गतको कसूरमा सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम रिट हालिएको हो । 

ललितपुर महानगरपालिका–२५, भैंसेपाटीस्थित रिलायबल कोलोनीमा बस्दै आएकी जानकीका अनुसार पतिले बाटोघाटोमा दुर्व्यवहार गर्ने, पार्किङ्गमा रोकेर धम्काउनेलगायतका क्रियाकलाप गर्न थालेपछि मुद्दा दायर गर्नुपरेको हो । सुरेन्द्रले बिहे दर्ता गर्न अस्वीकार गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै उनले यसअघि राष्ट्रिय महिला आयोग गुहारेकी र शान्ति सुरक्षाको माग गर्दै उनले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा निवेदन दिएकी थिइन् । 

भएको के हो ? 

सम्बन्धविच्छेद भएपछि आफ्नी छोरीसँग काठमाडौंको मध्य बानेश्वरमा बसोबास गर्दै आएकी जानकीको सुरेन्द्रसँग २०७४ भदौमा चिनजान भएको हो । ‘भर्चुअल’ रुपमा कुराकानीपछि उनीहरु नजिकिए । जानकीले नाताले दाजु डिल्लीराज आचार्यसँग यो कुरा राखिन् । डिल्लीराजले २०३८ सालदेखि आफूहरु साथी रहेको र सुरेन्द्र राम्रो व्यक्ति भएको बताए । 

त्यतिबेला सुरेन्द्र रुसमा थिए । सुरेन्द्रले जानकीकी आमा र संयुक्त राज्य अमेरिकामा भएका सहोदर दाजु डा. केशव पाण्डेसँग विवाहको प्रस्ताव राखे । उनले डिल्लीराजमार्फत औपचारिक रुपमा जानकीको हात मागेपछि दुवै पक्षले वैशाखमा विवाह गर्ने सहमति जनाए । सुरेन्द्रकी आमा महेश्वरा भण्डारीले उनलाई बुहारी बनाएर घर भित्र्याइन् ।

"मैले विवाह दर्ता मागेको हो,डिभोर्स मागेको हुँ र ? किन डिभोर्स दिने ?’ २०७७ माघ २६ गते तीनकुनेस्थित एनएमबी बैंकमा खाता खोल्दा सुरेन्द्रले आफूलाई पत्नी भनेर उल्लेख गरेको उनको भनाइ छ ।"

त्यसपछि सुरेन्द्र पुनः रुस गए । जानकी श्रीमती र बुहारीको हैसियतले घरबार सम्हालेर बसेकी थिइन् । २०७४ चैतको अन्तिममा सुरेन्द्र स्वदेश फर्किए । नजिकका नातेदारको उपस्थितिमा २०७५ वैशाख १८ गते डिल्लीबजारस्थित निखिलेश्वर आश्रममा विधिपूर्वक गुरुपुजनसमेत गरी बंगलामुखी मन्दिर पाटनमा सिन्दुर–पोते गरियो । 

जानकीसँग विवाह गर्नुअगावै उनको दुईपटक विवाह भइसकेको थियो । दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद भई नसक्दै आफ्नी अर्की केटी साथीसँग टिकाटालो गरेर सुरेन्द्र जापान बसेको कुरा उनले थाहा पाइन् । त्यसपछि सुरेन्द्रलाई विवाह दर्ताका लागि भनिन् । तर,उनले मानेनन् । 

राहदानी नवीकरण गर्न समस्या भएपछि गत असोज २६ गते फेरि पनि विवाह दर्ताका लागि दबाब दिइन् । सुरेन्द्रले जे गर्न सक्छस् गर, म विवाह गर्दिन भन्दै धम्की दिएको जानकी बताउँछिन् । त्यसपछि जानकी प्रशासनदेखि महिला आयोगसम्म पुगिन्  ।

उनी भन्छिन्,‘मेरो राष्ट्रिय परिचयपत्र बनेको छैन । राहदानी नवीकरण हुन सकेको छैन । अहिले मलाई डिभोर्स दिन्छु भनेर धम्काइरहेको छ । मैले विवाह दर्ता मागेको हो,डिभोर्स मागेको हुँ र ? किन डिभोर्स दिने ?’ २०७७ माघ २६ गते तीनकुनेस्थित एनएमबी बैंकमा खाता खोल्दा सुरेन्द्रले आफूलाई पत्नी भनेर उल्लेख गरेको उनको भनाइ छ । 

त्यस्तै,जेएफ ब्रोकर हाउसमा पनि उनले पत्नी नै भनेर खाता खोलेको जानकी बताउँछिन् । यता, जानकीका बुवाको चौरासी पूजाको सादर निमन्त्रणा कार्डमा उनीहरुलाई छोरीज्वाइँ भनेर उल्लेख गरिएको छ । वडा कार्यालयमा बिहे दर्ताका लागि भरेको अनुसूची फाराममा उनले हस्ताक्षर गरेका छन् तर अहिलेसम्म ल्याप्चे लगाएका छैनन् । 

कार्यालयले सुरेन्द्रलाई पटकपटक विवाह दर्ताका लागि बोलाइसकेको छ । दुवै सूचक उपस्थित नभएकाले विवाह दर्ता हुन नसकेको जानकीले बताइन् । सुरेन्द्रले फौजदारी अभियोगमा फसाउने र ज्यान लिने धम्कीसमेत दिएको उनको दाबी छ । यता, सुरेन्द्रले यो विषयमा आफू केही पनि नबोल्ने बताए । उनले भने,‘अदालतबाट अहिलेसम्म मलाई पत्र आएको छैन । मैले मिडियाबाट थाहा पाएँ । यस विषयमा मैले मिडियामा जवाफ दिइराख्नुपर्छजस्तो लाग्दैन ।’

टिप्पणीहरू