ठगी १० करोड रुपैयाँ, राहदानी एक हजार थान

ठगी १० करोड रुपैयाँ, राहदानी एक हजार थान

बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको कोन्जोसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामा समातिएका हुन् । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । लामाले काठमाडौंको महाराजगञ्जस्थित एसईई स्टार टे्रनिङ्ग सेन्टर खोलेर बेरोजगार युवालाई वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गरेको खुल्न आएको छ । 

प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीमा लिथोलिया, क्यानडा, सिंगापुरजस्ता मुलुक पठाइदिने र त्यहाँ पुगेपछि आकर्षक तलब सुविधासहितको काम लगाइदिने प्रलोभनमा बेरोजगार युवाबाट प्रतिव्यक्ति पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएको पाइएको छ । 

उनले धेरै बेरोजगार युवाबाट १० करोडभन्दा बढी रकम उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रेनिङ्ग सेन्टरबाट प्रहरीले नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ । 

हिजो काठमाडौंको शंखमूलबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको छ ।
 

टिप्पणीहरू