दिव्या हत्याकाण्ड : पैसाको भोकले निम्त्याएको मृत्यु

दिव्या हत्याकाण्ड : पैसाको भोकले निम्त्याएको मृत्यु
सुन्नुहोस्

आवश्यकभन्दा बढी महत्वकांक्षी हुँदा कहिलेकाही आफैँलाई हानी गर्छ । यसको ज्वलन्त उदाहरण हो, पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेको भारतको दिव्या हत्याकाण्ड । 

यो हत्याकाण्ड बुझ्न ११ वर्षअघि पुग्नुपर्छ । अर्थात् सन् २०१३ तिर । १६ वर्षमा भर्खर पाइला टेक्दै गरेकी दिव्या पहुजालाई जसरी पनि चर्चित मोडल बन्नु थियो । त्यतिमात्रै होइन, गरिब परिवारमा जन्मिएकी उनी जसरी पनि पैसा कमाएर धनी बन्न चाहान्थिन् । 

यही सपना र महत्वकांक्षले उनलाई विभिन्न व्यवसायी र ग्यांगस्टारहरुको संगतमा पुर्यायो । घरमा बाबुआमा र बहिनीले त्यतिबेलै दिव्याको रवाफ देखेरै भनेका थिए, 'पैसा कमाउन मोडल नै बन्नपर्छ भन्ने छैन । अन्य साना काम गरेर पनि जीवन चलाउन सकिन्छ ।' 

तर, दिव्याभित्रको मोडल बन्ने र पैसा कमाउने हुटहुटीसामू परिवारको सल्लाहले काम गरेन । विस्तारै दिनहरु बित्दै जाँदा एकदिन उनको भेट भयो चर्चित ग्यांगस्टार सन्दिप गडोलीसँग । जो प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनीविरुद्ध हत्या, लुटपाट, स्मग्लिङजस्ता विभिन्न ४० वटा मुद्धा थियो । 

लगातारको भेटपछि दिव्या सन्दिपको साथी बनिन् । र अन्ततः उनीहरु प्रेम सम्बन्धमा परे । यी दुइको सम्बन्धको खबर एक कान दुई कान हुँदै प्रहरीसम्म पुग्यो । 

त्यसपछि गुरुग्राम प्रहरीले दिव्यालाई सम्पर्क गरेर चौकी बोलायो । उनी चौकी पनि गइन् । त्यहाँ प्रहरीले भनिदियो, 'हामीलाई सहयोग गरेर राम्रो जीवन बाँच्ने कि सन्दिपसँगै इन्काउन्टरमा मर्ने ?' दिव्याले तत्काल निर्णय लिन नसक्ने भन्दै केही दिन सोच्ने समय मागिन् । र, अन्ततः प्रहरीलाई साथ दिन तयार भइन् । 

त्यसको केही दिनपछि प्रहरीले इन्काउन्टरको योजना सुनायो । दिव्याले पनि योजनाअनुसार सन्दिपलाई होटल गुरुग्राम सिटी पोइन्ट पुर्याइन् । त्यही होटलमा सन्दिपको भयो । 

यहाँसम्म ठिकै थियो । तर, यहीबाट घटनाले विकराल रुप लिन थाल्यो । सन्दिपको इन्काउन्टर भएको सूचना उनको परिवारसम्म पुग्यो । परिवारले खोजतलास गर्दै जाँदा उक्त इन्काउन्टर फेक भएको र त्यसमा प्रेमिका अर्थात् उनै दिव्याले साथ दिएको भन्दै मुम्बई प्रहरीमा जाहेरी दिए । 

गुरुग्राममा भएको घटना अब मुम्बइसम्म पुगिसकेको थियो । सन्दिपको परिवारले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान सुरु गर्यो । पछि गुरुग्राम प्रहरीले घटनाको विस्तृत जानकारी मुम्बइ प्रहरीलाई दिएपछि दिव्यालाई सकेसम्म कम सजाय दिलाउने गरी अदालतमा प्रस्तुत गराइयो । 

अदालतले पनि ७ वर्षको जेल सजाय सुनाइदियो । त्यो फैसला आउंदै गर्दा दिव्या १८ वर्ष पुगिसकेकी थिइन् । त्यतिबेला परिवारले भनेको कुरा सम्झिएर रुनबाहेक उनीसँग विकल्प थिएन । मोडल बन्न शहर हिँडेकी गरिब परिवारकी एक छोरी नसोचेको दलदलमा फस्न पुगिन् । 

उनले अदालतले गरेको फैसलाअनुसार जीवनको ७ वटा वसन्त जेलमै कटाइन् । अन्ततः ७ वर्ष जेल सजाय काटेर दिव्या घर फर्किइन् । उनले सोचेकी थिइन्, अब कुनै दलदलमा नफसेर सामान्य जीवन बिताउँछु । तर, अवस्था उनले सोचेजस्तो भएन । 

यही जनवरी २ मा उनको मोबाइलमा एउटा कल आयो । फोन गर्ने व्यक्ति अभिजित सिहं, जो ८ वर्षअघि सन्दिपको इन्काउन्टर भएको होटल गुरुग्राम सिटी पोइन्टका मालिक थिए । उनै अभिजितले दिव्यालाई कल गरेर आफ्नो होटल आउन आग्रह गरे । उनी साँझ भनेकै समयमा होटल पुगिन् । 

यता, रातभर दिव्या घर नफर्किएपछि परिवारलाई चिन्ता बढ्न थाल्यो । र, अर्को दिन बिहानै उनकी बहिनी पनि सोही होटल पुगिन् । आफ्नी दिदीबारे सोधपुछ गरिन् । तर, होटल म्यानेजरले कोही दिव्या नाम गरेको महिला नआएको जवाफ दिएर फ़र्काएपछि उनले प्रहरीलाई खबर गरिन् । 

प्रहरीले होटल पुगेर खोजतलास गर्दै जाँदा दिव्याको औँठी, डेबिट कार्ड, ब्लेजर र भित्री वस्त्रहरु फेला पर्यो । प्रहरीले तत्कालै सिसिटिभी फुटेजहरुबाट अनुसन्धान सुरु गर्यो । र अन्ततः पत्ता लाग्यो कि त्यही रात दिव्याको हत्या भइसकेको रहेछ । 

घटनामा संलग्न रहेको आरोपमा होटल मालिक अभिजितसहित अन्य तीनजना पक्राउ परेका छन् । दिव्याको लाश व्यवस्थापन गर्न प्रयोग गरिएको बिएमडब्लु गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रक्राउ परेका अभिजितले प्रहरीसमक्षको बयानमा भनेका छन्, 'दिव्यासँग मेरो न्युड तस्वीर र भिडियो थियो । त्यसलाई प्रयोग गरेर उसले मलाई ब्ल्याकमेल गर्दै आएकी थिइ । मैले धेरैपटक पैसा पनि दिए । तर उसले मलाई धम्की दिईरहिन् । त्यसैले मैले हत्या गरेको हुँ ।' 

परिवारले भने दिव्या जेलबाट फर्किएपछि त्यस्तो कुनै काममा संग्लन नभएको दावी गरिरहेको छ । अभिजित सिंहले बलात्कार गरेर हत्या गरेको र आफूलाई बचाउन झूट बयान दिएको परिवारको ठम्याई छ । प्रहरीले भने घटनाबारे विस्तृत अध्ययन तथा अनुसन्धान भइरहेको जनाएको छ । 

यो घटनाले पछिल्लो समय भारतीय सञ्चार माध्यमहरुमा विशेष प्राथमिकता पाइरहेको छ ।

एजेन्सीको सहयोगमा

टिप्पणीहरू