यी हुन् राष्ट्रिय सभा चुनावमा माओवादीका ६ उम्मेदवार
सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन गरेर चुनावमा जाने निर्णयअनुसार आफ्नो भागमा परेको ६ सिटमा उम्मेदवार तय गरेको हो । जसमा कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय छ ।
गठबन्धनमा क्लस्टरवाइज पाएको नाम टुंगो लगाएको सो पार्टीले जनाएको छ ।
माघ ११ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका चार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठकले १९ वटै सिटको भागबन्डा मिलाएको थियो ।
जसअनुसार माओवादी भागमा ६ सिट परेको हो । नेपाली कांग्रेसले १०, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएका छन् ।
टिप्पणीहरू