नारदको खुट्टा भाँच्ने कमलाको धम्की

नारदको खुट्टा भाँच्ने कमलाको धम्की
सुन्नुहोस्

कैलालीका नारदमुनी राना र कञ्चनपुरका कमला बोहराले आफूहरूलाई एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र मान्ने गरेका छन् । तर ती दुई वटैको द्वन्द्व चर्केको छ ।

विवाद र द्वन्द्व चर्किंदै जाँदा ललितपुरको च्यासलस्थित एमाले हेटक्वार्टरमा विद्यार्थी राजनीतिबाट आएकी केन्द्रीय सदस्य बोहराले पोलिटब्युरो सदस्य नारदमुनी रानाको खुट्टा भाँच्ने बताएकी छन् । कञ्चनपुर इञ्चार्जसमेत रहेका रानासहित महासचिव शंकर पोख्रेलको कार्यकक्षमा बसेको बैठकमा बोहराले त्यसरी धम्क्याएपछि महासचिव पोख्रेल र राना नबोली बसेका थिए । सो बैठकमा कञ्चनपुरका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्टलगायत सहभागी थिए । 

पोलिटब्युरो सदस्य महेश बस्नेत कञ्चनपुर गएको बेला भएको विवाद र कुटपीटबापत कारबाहीमा परेका आफू निकटकालाई कारवाही फुकुवा नहुँदा कमलाले आक्रोश पोखेकी हुन् । च्यासलको विवाद मंसिर पहिलो सातातिर भएको भए पनि अध्यक्ष ओलीले अहिलेसम्म सो प्रसंग उठाएर कमलाविरुद्ध बोल्ने गरेका छन् । ओलीले भन्ने गरेका छन्– थारुलगायतका जनजातिले एमाले छोड्दा नारदमुनी पार्टीमै बसे । उनी रेशमको पार्टीमा जान पनि सक्थे । तर तिनै नारदको खुट्टा भाँच्छु भन्ने ? प्रदेश सचिव रणबहादुर चन्दले पनि नारदलाई कैलालीमा प्रतिबन्ध लाउँछु भन्ने । यसरी काम गर्नेलाई निरुत्साहित गर्न मिल्छ ?

कैलाली र कञ्चनपुरबाट भेट्न जाने सबैसित ओलीले कमला र रणबहादुर चन्दको विरोध गर्न थालेपछि कमला नियमित रूपमा बालकोट पुगेर फेसबुकको रिल बनाउने गरेकी छन् । ओली पत्रिका पढ्दै गर्दा आजको विशेष न्युज कमलाले भन्छिन् । ओली भन्छन्– तिमी आयौ त्यही विशेष हो । आज कमला बालकोटमा, बालकोटको कौशीमा कमला भनेर उडाउन भ्याएका छन् । उनले आफ्नो बच्चालाई समेत लिएर ओलीसित रिल बनाएकी छन् ।

पहिले वामदेव, झलनाथसित निकट बोहरा नवौं महाधिवेशनदेखि ओली निकट भएकी हुन् । उनलाई ओलीले चेली भन्ने गरेका छन् । उनले बा भन्छिन् । कोही पुरुषले त्यसरी खुट्टा भाँच्ने भनेको भए कारवाही भइसक्थ्यो, महिला पार्टीमा कम छन् भनेर कमला बचेकी छन्, एमाले च्यासल स्रोतले बतायो, उनी बालकोटमा भेट्न त जान्छिन् तर पहिलेजस्तो गम्भीर वार्ता हुन छोडेको छ । 

नारदमुनी एमालेबाट २०४९ मा धनगढीको उपमेयर भएका, २०७० मा समानुपातिकबाट प्रतिनिधि सभा सदस्य र २०७४ मा आरजुलाई कैलालीमा ५ मा हराउन सफल भएका छन् । २०७९ को चुनाव एक हजारभन्दा कम मतको अन्तरमा हारेका थिए । कमलाले भने २०७९ मा बेलौरीको मेयरले हारेपछि कञ्चनपुरका एमाले सचिव पल्लवराज भट्टहरूको यसमा हात रहेको आरोप लगाउने गरेकी छन् । 

कञ्चनपुरमा पोलिटब्युरो सदस्य निरु पाल, पल्लव भट्ट, लक्ष्मी बुढाको एउटा गुट छ भने पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, कमला बोहरा, बचन सिंहको अर्को गुट छ ।
 

टिप्पणीहरू