हजुरबुबा र नातिको शव छाप्रो बाहिर

हजुरबुबा र नातिको शव छाप्रो बाहिर
सुन्नुहोस्

नवलपरासी पश्चिमको सुस्तामा एकै परिवारका दुई जना मृत भेटिएका छन् । सुस्ता गाउँपालिका–३, मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमार मृत फेला परेको बताइएको छ ।

आज बिहान ६ बजेको सममाय स्थानीयले उनीहरुलाई छाप्रो बाहिर उत्तानो अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । 

यक्षलालको घाँटीमा चोट छ भने नाति गौचरणको पनि घाँटी र पेटमा चोट देखिन्छ । उनीहरु चार÷पाँच वर्षदेखि सिमेन्टको कच्ची तर खपट्टेले छाएको छाप्रोमा बस्दै खेतीपातीमा संलग्न थिए ।

मृतक यक्षलालका छोरा डेढ महिनादेखि रोजगारीको सिलसिलामा भारतमा छन् । छोरा गएपछि बुहारी पनि अर्का नाति र नातिनी लिएर माइती (भारततर्फ) गएको बुझिन आएको प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी टोली खटिएको छ । तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू