सवाल चोरिएका मूर्ति र पुरिएका सम्पदाको
विश्वले नेपाललाई चिन्ने आयाम थुप्रै छन् । त्यसमध्येको एक हो, साँस्कृतिक विविधता । कतिपय विदेशी राष्ट्रले त नेपाललाई ‘मन्दिरहरूको देश’ भन्ने उपनामसमेत दिएका छन् । तर नेपालको पहिचान संरक्षण गर्न सरकारले पर्याप्त कदम चालेको पाइँदैन । बरु यहाँ अवस्था यस्तो छ कि मन्दिरहरूमा भएका भगवानका मूर्तिहरू रातारात चोरी हुँदैछन् । साँस्कृतिक सम्पदालाई कमाइको धन्दा बनाउनेहरूको भीड यहाँ बाक्लै छ । तर, यही भीडमा एक जना त्यस्ता पात्र छन्, जसले साँस्कृतिक सम्पदा संरक्षणका लागि दिलोज्यान दिइरहेकै छन् । उनी हुन्, यादवलाल कायस्थ । कायस्थले सम्पदा संरक्षणकै लागि सरकारी जागिर (सेना)समेत छाडे ।
अहिले उनको दैनिकी विभिन्न ठाउँमा रहेका ऐतिहासिक ढुंगेधारा, पाटी–पौवा, मठमन्दिर र मूर्ति उत्खनन–संरक्षणमै बित्छ । एक दशकदेखि सम्पदा संरक्षणमा लागेका कायस्थले अहिलेसम्म हराएका एक सय ५० भन्दा बढी ऐतिहासिक मूर्ति फिर्ता ल्याएर पुनःस्थापना गरिसकेका छन् । त्यसो त सम्पदा संरक्षणसँग प्रत्यक्ष सरोकार राख्ने साँस्कृतिक तथा पर्यटन मन्त्रालय, पुरातत्व विभागलगायत निकाय पनि छन् । सरकारी तवरबाट गरिनुपर्ने सम्पदा संरक्षणको काम अहिले कायस्थले गर्नुपरिरहेको छ । साँस्कृतिक विविधताको देश मानिने नेपालमा साँस्कृतिक सम्पदाकै संरक्षण गर्न सरकार कतिसम्म कमजोर छ, यसलाई बुझ्न केही घटनाबारे चर्चा गरौँ ।
घटना नं १ : केही समयअघि कायस्थलाई फोनमा कसैले आग्रह गरे, ‘काठमाडौँ महानगरपालिकाको वडा नं १ नक्सालमा ऐतिहासिक ढुंगेधारा भेटिएको छ, यसको उत्खनन् र संरक्षण गर्नुपर्यो ।’ कायस्थ तत्काल त्यहाँ पुगे । उनकै नेतृत्वमा जनस्तरबाट ढुंगेधारा उत्खननको काम शुरु भयो । ३० फुटमुनि ढुंगेधाराको संरचना भेटियो । यो कुरा पुरातत्व विभागसम्म पनि पुगिसकेको थियो । तर विभागले ढुंगेधार उत्खनन गर्न दिएन । त्यतिबेला विभागका तत्कालिन महानिर्देशक थिए, दामोदर गौतम । कायस्थको टिमले विभागलाई त्यहाँ ढुंगेधारा भएको प्रमाणस्वरूप १०७ वर्ष पुरानो केही इँटासमेत देखायो । तर पनि विभागले मानेन । सरकारी तवरबाट हुनुपर्ने काम जनस्तरबाट भएकोमा विभागले सहयोगको हात बढाउनु पथ्र्यो तर सहयोग गर्नुको सट्टा उल्टै जमिन पुर्यो । अहिले त्यो ठाउँमा घर बनाइएको छ ।
घटना नं २ : नक्सालकै शंकरदेव कीर्ति महाविहारबाट ४४ वर्षअघि हराएको एउटा मूर्ति कसरी फिर्ता ल्याउने ? भन्ने विषयले कायस्थलाई भित्रभित्रै पिरोलिरहेको थियो । मूर्ति थियो, भगवान करुणामयको । उनले त्यो मूर्ति खोजिदिन प्रहरी र वडा कार्यालयलाईसमेत आग्रह गरे । तर कसैले चासो देखाएन । कायस्थलाई भने जसरी पनि त्यो मूर्ति फिर्ता ल्याउनु थियो । उनले महाविहारका स्थानीय ज्येष्ठ स्थानीयहरूसँग महिनौं लगाएर सोधपुछ र अनुसन्धान गरे । अनुसन्धानकै क्रममा हराएको मूर्तिको केही पुराना तस्बिर र स्केचहरू फेला पारे । खोज्दै जाँदा त्यो मूर्ति छाउनस्थित राष्ट्रिय संग्रहालय पुगेको पाइयो । त्यसपछि त्यहाँका प्रमुख जयराम श्रेष्ठसँग समन्वय गरेर मूर्तिलाई यथास्थानमा पुनःस्थापना गरे । मूर्ति भेटिए पनि कायस्थले एउटा जवाफ भने पाउन सकिरहेका थिएनन् । आखिर ३५७ केजीको गह्रुंगो मूर्ति कसरी संग्रहालय पुग्यो ? सरकारी र सांगठनिक तवरबाटै त्यो मूर्तिको तस्करी हुन लागेको कायस्थकोे आशंका थियो । किनकि, त्यति गह्रुंगो मूर्तिलाई व्यक्तिगत रूपमा चोरी गर्न सम्भव थिएन ।
घटना नं ३ : एकदिन सिन्धुपाल्चोकमा पनि ऐतिहासिक मूर्ति भेटिएको खबर कानमा पुर्यो । काठमाडौँबाट केही साथीसहित त्यहाँ पुगे । पुरातत्व विभागले पनि यो खबर पायो । त्यहाँबाट ल्याइएको मूर्ति कायस्थको टिमले पुरातत्व विभागलाई बुझायो । तर अहिले त्यो मूर्ति कहाँ छ ? केही जानकारी छैन । उनले विभागसँग जानकारी लिने प्रयास पनि गरे तर विभागले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
माथिका तीन घटना उदाहरण मात्रै हुन् । अझै हजारौं ऐतिहासिक मूर्ति उत्खनन र संरक्षण गर्न बाँकी रहेको तर यसप्रति सरकारले कुनै चासो नदेखाएकोमा कायस्थको चिन्ता छ । उनी भन्छन्, ‘यदि देशको पहिचान नै हरायो भने, तपाईं हाम्रो पनि पहिचान पनि हुँदैन ।’ नेपालका ऐतिहासिक मूर्तिहरू विदेशसम्म पुग्नु दुखद् विडम्बना भएको कायस्थ बताउँछन् । उनले थप्दै भने, ‘सानो सियो छिराउन गाह्रो हुने विमानस्थलबाट त्यत्रा मूर्तिहरू कसरी विदेश जान्छन् त ?’
अहिले कायस्थ काठमाडौँको मुटु मानिने हनुमान ढोका (वसन्तपुर) दरबार क्षेत्रमा रहेको जीर्ण प्रहरी भवन भत्काउन लागि परेका छन् । करिब ४० रोपनीमा फैलिएको दरबार क्षेत्रको सुन्दरतामा जीर्ण अवस्थाको प्रहरी भवन दाग बनेको उनको तर्क छ । रातो स्टिकरसमेत टाँसिएको उक्त भवन यति जीर्ण अवस्थामा छ कि, जुनसुकै बेला ढलेर मान्छेको ज्यान जाने अवस्था छ । उक्त प्रहरी भवन वि.सं २०१५ सालमा निर्माण भएको थियो । यसले करिब करिब २ दुई रोपनी जमिन ओगटेको छ । तर ०७२ सालको भूकम्पपछि यो भवन प्रयोगविहिन बन्न पुग्यो । अहिले यहाँको प्रहरी परिसर कार्यालय टेकुमा सरिसकेको छ । मानवीय दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त भवन भत्काउन कायस्थले विभिन्न सरकारी निकायसम्म पनि हारगुहार गरे । तर गुहार कसैले सुनेको छैन ।
कायस्थले भवन भत्काउन केही महिनाअघि मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती र आइजिपी वसन्त कुवँरलाईसमेत स्थलगत भ्रमण गराए । उनीहरूले चाँडै भवन भत्काइने वाचा पनि गरे । तर चार महिनाभन्दा बढी भइसक्दा पनि कुनै पहल नगरिएको कायस्थको गुनासो छ । आइजिपी साहेबले तुरुन्त भत्काउन लगाउँछु भन्दै भेट्न आफ्नो कार्यालयमा पनि बोलाउनु भएको थियो । तर अहिले मलाई उहाँसँग भेट्नै दिइएको छैन ।’ उनले थपे, ‘टाढा टाढा बाट आउने पर्यटकहरूले यो भवन देखेर के सोच्छन् होला ?’
उनले थपे, ‘सरकारले चाहँदा जति ठूलो संरचना पनि रातारात बनाउन र भत्काउन सक्छ तर यसको हकमा त सरकारले नै लापरवाही गरेको स्पष्ट देखिन्छ ।’
टिप्पणीहरू