यता युद्धक्षेत्र पुगेका पत्रकारलाई अवार्ड, उता ५० हजारको दवाब

यता युद्धक्षेत्र पुगेका पत्रकारलाई अवार्ड, उता ५० हजारको दवाब
सुन्नुहोस्

हमास र इजरायलको लडाइँ चलिरहँदा युद्धस्थलमै गएर रिपोर्टिङ गरेका होम कार्कीलाई गृहजिल्लामा आयोजित समारोहबीच सर्वाेत्कृष्ट राष्ट्रिय पत्रकार सम्मान प्रदान गरिएको छ ।

युद्धक्षेत्रमा पुगेका पत्रकार कार्कीलाई नगद १५ हजार रुपैयाँसहित सर्वाेत्कृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड–२०८० प्रदान गरिएको हो । हेटौँडा जर्नालिजम अवार्डको पाँचौ श्रृंखलामा कार्कीसहित १० जनालाई सम्मान गरिएको छ ।

यता, पत्रकारलाई धमाधम अवार्ड वितरण भइरहँदा हालसालै सम्पन्न शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्ड कप फुटबलमा आयोजकले उत्कृष्ट खेलकुद पत्रकारलाई दिने भनेको ५० हजार राशिको पुरस्कार वितरण गर्न नसकेको घटनाले पनि हेटौँडा तातेको छ । आयोजक जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले पत्रकार सम्मेलनमै यस वर्षबाट खेलपत्रकारलाई हौसला बढाउन नगद पुरस्कार दिने भनेका थिए । तर, फाइनलसम्म आइपुग्दा केही मान्छेले शक्ति केन्द्रहरूमार्फत फोन गरेर दबाब दिन थालेपछि उत्कृष्ट पुरस्कार आयोजकले दिन नसकेको स्रोतको भनाइ छ । 

संघनिकट स्रोतका अनुसार उत्कृष्ट खेल पत्रकारको रूपमा आ–आफ्ना मान्छेको नाम अघि सार्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं सांसद इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँलगायतले आयोजकलाई दबाब दिएका थिए ।

त्यसो त उत्कृष्ट खेलाडीले पाउने बुलेट बाइकसमेत सशस्त्र प्रहरी टिमका ‘फलानो’ लाई दिनुपर्ने भन्दै कांग्रेस नेताबाट आयोजकलाई फोन गएको बुझिएको छ । यसरी राजनीतिक हस्तक्षेप र बजारभरि गोप्य भनिएका ती फोन छरपष्ट हुँदा डेढ करोड रुपैयाँ खर्चेर खेलाइएको खेलको मर्ममाथि नै प्रहार भएको व्याख्या गरिन्छ । 
 

टिप्पणीहरू