चरित्रहत्या गरियो भन्दै शोभा पाठकद्वारा प्रेस काउन्सिलमा चित्कार
नेकपा (एमाले) का नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा (जानुका) पाठकले आफ्नो चरित्रहत्या गर्ने मिडियाविरुद्ध प्रेस काउन्सिल,नेपालमा उजुर दिएकी छन् । उनले झण्डै आधा दर्जन मिडियाविरुद्ध काउन्सिलमा उजुर हालेकी हुन् । आफ्नो निजी जीवनसँग सम्बन्धित विषयलाई लिएर मिडियाहरुले चरित्रहत्या हुने सामग्री प्रकाशन–प्रशारण गरेको उनको आरोप छ ।
आफ्ना दाजुभाइ र पूर्वपतिसँग तस्बीर जोडेर हनिट्रयापमा पारेको, सयौंसँग पैसा उठाएको, ठूला व्यक्तिलाई फसाएकोलगायतका एकपक्षीय समाचार छापेको उल्लेख गर्दै उनले ती समाचार हटाउन र ती मिडियालाई कारबाही गर्न माग गरेकी छन् ।
‘म शोभा पाठकको निजी जीवनसँग सम्बन्धित विषयलाई लिएर तल उल्लेखित केही मिडियाले मेरो दाजुभाइसँग, पूर्वपतिसँगको फोटो जोडेर,हनिट्रयापजस्तो जघन्य अपराध गरेको, अर्काको जग्गा हडपेको, सयौंसँग पैसा उठाएको, ठूलो व्यक्तिलाई फसाएकोलगायत एकपक्षीय रुपमा,मेरो गोपनीयताको उल्लङ्घन गर्दै चरित्रहत्या हुनेगरी समाचार प्रकाशन–प्रशारण गरिरहेको हुँदा उल्लेखित मिडियालाई हदैसम्मको कारबाही हुन र उक्त मिडियाबाट प्रशारित सामग्री हटाइदिनुहुन अनुरोध गर्दछु’, उजुरीपत्रमा उल्लेख छ ।
यता,शोभासँग जोडेर तस्बीर र समाचार प्रकाशन भएपछि किरणकुमार लम्सालले पनि काउन्सिल गुहारेका छन् । पेशाले विद्यालय सञ्चालक उनले भ्रामक समाचार प्रकाशन गर्ने र तस्बिर जोडेर राख्नेलाई कारबाहीको माग गर्दै काउन्सिलमा हिजो निवेदन दिएका हुन् । फेसबुक र अनलाइन न्यूज पोर्टलमा आएका समाचारहरुले आफू र आफ्नो परिवारलाई मानसिक तनाव दिएको उनको भनाइ छ । उनले शोभालाई आफ्नो परिवारकै सदस्यको नजरले हेर्ने गरेको बताएका छन् ।
उनले भनेका छन्,‘म र मेरो परिवारसँग एकै घर सदस्यसरह रहेकी शोभा पाठक जो मेरो घर सदस्यकै रुपमा लिने गरेको छु मैले र मेरो परिवारले यस्तो छोरी सम्मान सम्बन्धलाई लिएर एउटा अति नै मर्यादाहीन समाचार सम्प्रेषण गरी हाल फेसबुक र अन्य अनलाइन मिडियामा आएको जसका कारण विभिन्न व्यक्तिहरु घर सदस्य र म स्वयंलाई अत्यन्तै मानसिक तनाव भएको हुँदा हदैसम्मको कारबाही गरिपाऊँ भने यो निवेदन पेश गरेको छु ।’
एमालेनिकट युवा संघका ईञ्चार्ज एवं केन्द्रीय र पोलिटब्युरो सदस्य बस्नेतसँग नाम जोडिएकी शोभामाथि अहिले अनेकखालका टिकाटिप्पणी भइरहेको छ । विभिन्न व्यक्तिसँग उनको नाम र तस्बीर जोडेर सामाजिक सञ्जालसँगै विभिन्न न्यूज पोर्टलमा समाचार प्रकाशित भएको छ ।
टिप्पणीहरू