अख्तियार टार्न मेयर सुटुक्क मुस्ताङतिर

अख्तियार टार्न मेयर सुटुक्क मुस्ताङतिर

ललितपुर गोदावरी नगरपालिकाले फेरि चर्चा कमाएको छ मेयर गजेन्द्र महर्जनकै कारण । मेयर महर्जन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीदेखि प्रवीन कोइरालासम्मलाई अख्तियारले डाम्न लागिसकेको अवस्था छ । यतिसम्म कि मन्दिरमा तीर्थ भाकल गर्न केही बाँकी राखेका छैनन् गजेन्द्रले । उनीमाथि नगरपालिकाको ढुंगा गिट्टी निकासी करबापत संकलित कर सम्बन्धित कम्पनीलाई फिर्ता दिएको अभियोग लागेको छ । 

करिब डेढ करोड रूपैयाँ रकम फिर्ता दिने सम्बन्धी उक्त निर्णयमा तत्कालीन कार्यपालिका सदस्यको रूपमा हस्ताक्षर गरेका केही इमान्दार वडाध्यक्ष र कार्यपालिका सदस्य आफूहरूलाई पनि त्यो केसले तान्छ कि तान्दैन ? भन्दै कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन् भने मेयर भने अख्तियारलाई दबाब दिन शेरबहादुर देउवा निवासदेखि देवी देवताका मन्दिर भाकल गर्दै हिँडेका छन् । यसरी हिँड्ने क्रममा उपमेयर मुना अधिकारीका नाममा फर्जी पास बनाएर दुईवटा सरकारी गाडीसहितै १५ दिनको रिफ्रेसमेन्ट टुरमा गएका छन् । फागुन ५ देखि २५ गतेसम्मको नाममा अनिश्चित कार्यक्रमको खाली अनुमति जिल्ला प्रशासन कार्यालय ललितपुरको नाममा जारी गराएर पारिवारिक तीर्थाटन चलिरहेको छ । 

बा २ झ ३४३३ नम्बरको स्कोर्पिओ गाडी जुन नियमित उपमेयर अधिकारीले चढ्ने गरेकी थिइन् । त्यसमा मेयरकी श्रीमतीलाई अगाडिको सीटमा राखिएको छ । उपमेयर स्टाइलमा बसेकी पत्नी ट्राफिकको फन्दामा परेपछि घटना छताछुल्ल भएको छ । महर्जनको निर्णयलाई कसैले छलफल नै नगरी पास गर्ने गरेका कारण अख्तियारले थुप्रै प्रश्न उठाएको स्रोतको दाबी छ । अधिकांश निर्णय मेयर र प्रमुख प्रशासकीय अधिकृतको सेटिङमा हुने गरेका थिए ।

महर्जनले आफूलाई अख्तियारले कामै गर्न नदिएको भन्दै कुरा मिलाइदिन शेरबहादुर देउवा गुहारेका थिए । तर, देउवाले हपारेर पठाइदिए । कुनै समय देउवाका विश्वासिला मानिने मदनबहादुर अमात्य, मदनका खास मानिने चिरिबाबु महर्जन र गजेन्द्र महर्जनलाई शेरबहादुरले नराम्ररी झपारेका छन् । मदनको कुबुद्धिले पम्फा भुसाललाई हराउने तिमेरु नै होइनौ, कसले सघाउँछ अब तोसिमालाई ? भन्दै बूढानीलकण्ठमा नराम्ररी झपारेका थिए । गोदावरीको कर फिर्तालगायत विभिन्न अभियोगमा आरोपित भारती पनि अहिले ललितपुर महानगरपालिकामा आएका छन् । 
 

टिप्पणीहरू