उपनिर्वाचनको निम्ति मतदाता नामावली अद्यावधिक गरिँदै

उपनिर्वाचनको निम्ति मतदाता नामावली अद्यावधिक गरिँदै

आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका निम्ति निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दावी विरोधको तालिकासूची सार्वजनिक गरेको छ । 

आयोगले यही फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसहित) को कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ । 

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटी सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, दोहोरी नामावली भएको भए हटाउन सकिन्छ । 

त्यस्तै, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउन निवेदन दिनेलगायतका विषयहरु कार्यक्रममा समावेश गरिएको छ । 

मतदाता नामावली अद्यावधिक कार्यका लागि आयोगको वेबसाइटमा गई अनलाइनमार्फत निवेदन दिन सकिनेछ । अन्तिम नामावली चैत २२ गते मतदाता प्रकाशन हुने छ । आयोगले २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने समेत जनाएको छ । 

प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ मा रिक्त पदका निम्ति आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचन गराउँदै छ ।

टिप्पणीहरू