सरकारका प्राथमिकता तोक्न बन्यो १० जनाको कार्यदल

सरकारका प्राथमिकता तोक्न बन्यो १० जनाको कार्यदल
सुन्नुहोस्

सत्ता गठबन्धनले सरकारका प्राथमिकता तय गर्न १० सदस्यीय कार्यदल गठन गरेको छ ।

गठबन्धनमा आवद्ध पाँच दलबाट दुई-दुई जना रहने गरी गठित कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । सरकारको नेतृत्वकर्ता माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहने छन् । यो गठबन्धन बनाउने सूत्रधार मध्य्रका एक पुन अर्थमन्त्री पनि छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मुकुल ढकाल, जनता समाजवादी पार्टीबाट नेता मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । 

सरकारको कामलाई प्रभावकारी बनाउनका लागि प्राथमिकता विषयहरू समेटेर प्रतिवेदन तयार गर्ने कार्यदललाई जिम्मेवारी छ । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरू र अहिलेको समयअनुसार परिमार्जित प्रतिवेदन तयार हुने कार्यदलका एक सदस्यले जानकारी दिए । 

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठक बसेको थियो । अर्को बैठक मंगलबार बस्ने जनाइएको छ ।

टिप्पणीहरू