राष्ट्रिय सभाको आगामी अध्यक्ष को ?
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको बैठकले उम्मेदवारको नाम ‘फाइनल’ गर्ने माओवादीको तयारी छ ।
नयाँ गठबन्धन निर्माणको क्रममा भएको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भएकाले उनीहरुले अघि सार्ने उम्मेदवारले सजिलै जित्ने प्रष्ट गणित छ । त्यसकारण उम्मेदवारका आकांक्षीहरु क्रमशः खुल्न थालेका छन् ।
माओवादीमा तीनजना नेता अहिले उम्मेदवारका रुपमा चर्चामा छन् । हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल, प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाल र २०७४ को चुनावमा काठमाडौंबाट हारेका रोल्पाका झक्कुप्रसाद सुवेदीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको हो ।
माओवादी स्रोतका अनुसार राष्ट्रियसभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा पार्टीभित्र तीनखाले धारणा देखिएका छन् । हिजो बसेको संसदीय दलको बैठकमा छलफल हुँदा पूर्ण कार्यकाल (६ वर्ष) भएका सांसदलाई उम्मेदवार बनाउनुपर्ने अधिकांश नेताले धारणा राखेका थिए । अहिलेकी उपाध्यक्ष अर्याल र दाहालको पक्षमा पनि लबिङ चलिरहेको बताइन्छ ।
अर्याललाई अध्यक्ष बनाउनुपर्ने मत बलियो हुँदाहुँदै पनि उनको कार्यकाल अब २ वर्ष मात्र बाँकी रहेकाले सम्भावना कम्जोर बनेको माओवादीका एकजना स्थायी समिति सदस्यले बताए । यता, राष्ट्रपतिबाट मनोनित कोटामा सांसद बनेका दाहालको पनि पदावधि अब ४ वर्ष बाँकी छ । उनी ०७९ चैत २५ मा तत्कालिन राष्ट्रपतिबाट मनोनित भएका थिए । सुवेदी भने गत माघ ११ गते निर्वाचित भएका हुन् ।
यसैबीच झक्कुप्रसाद सुवेदीले अप्रत्यक्ष रुपमा आफू अध्यक्षको उम्मेदवारको आकांक्षी रहेको बताएका छन् । तपाईं राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा उनले पार्टीले जिम्मेवारी दिए पछि नहट्ने जवाफ दिए । आज साँझ बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने उनको भनाई छ ।
‘अहिले म नै उम्मेदवार भन्ने अवस्था छैन । साँझ पदाधिकारी बैठक छ । बैठकले के निर्णय गर्छ, त्यसपछि थाहा हुन्छ’, सुवेदीले भने, ‘तर पार्टीले मलाई जिम्मेवारी दियो भने निष्ठापूर्वक जिम्मेवारी पूरा गर्न तयार छु । राष्ट्रिय सभाको नेतृत्व गर्न सक्छु भन्ने विश्वास पनि छ ।’
राष्ट्रियसभा अध्यक्षको लागि पर्सि मंगलबार निर्वाचन हुँदैछ । भोलि उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
टिप्पणीहरू