रवि गृहमन्त्री भएपछि तस्करहरु पक्राउ नपर्ने दुर्गा प्रसाईंको ठोकुवा

सुन्नुहोस्

बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहासँगै राजतन्त्र फर्काउने अभियान चलाइरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘तस्करहरुको फोटो’ सार्वजनिक गर्ने घोषणा गरेका छन् । 

बैंकका ऋणीहरुलाई सडकमा उतारेर ठूला व्यापारीविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका उनले चैत १ गते भरतपुरमा फोटो सार्वजनिक गर्ने बताएका हुन् । प्रसाईंले यसअघि पनि विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, व्यापारिक घरानाका मालिकलगायतलाई भ्रष्ट करार गर्दै उनीहरुको फोटो सार्वजनिक गरेका थिए । 

आज गृहजिल्ला झापाबाट काठमाडौँ फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर पत्रकार सम्मेलन गर्दै भने, ’चैत्र १ गते भरतपुरमा तस्करहरुको फोटो सार्वजनिक गर्छु ।’

प्रसाईंले आफूलाई सरकारले पक्राउ गर्न खोजेको दावी गर्दै हिम्मत भए माडवारीहरुलाई समात्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती पनि दिए । ‘आमा र चेली बेच्नेले मलाई समाउने भन्ने सुनेको छु । समाउँछ भने समाओस् । म पक्रिन तयार छु । दुई दिनपछि आउँथे तर समाउने कुरा सुनेकोले आजै आएको’, उनले भने, ‘गाउँमा केटाकेटी र बूढाबूढीहरु मात्रै छन् । दैनिक २ किलोभन्दा बढी सुन बाहिरिएको छ, त्यस्तो सरकारले मलाई समाउने ? चैत्र १ गते भरतपुरमा तस्करहरुको फोटो सार्वजनिक गर्छु । रवीजी तपाईं ल मारवाडीहरु र तस्करहरुलाई समाउन सक्नु त !’

माफियाहरुले देश खोक्रो बनाएको भन्दै प्रसाईंले सत्तारुढ नेकपा एमालेमाथि गुण्डालाई पालनपोषण गर्ने धन्दा चलाएको आरोप लगाए ।

टिप्पणीहरू