राप्रपाको कार्यालय अगाडि नेवाः अभियन्ताहरुको धर्ना
एक जना केन्द्रीय नेता बैठकस्थलमा कुटिएपछि पूर्वपञ्चहरुको पार्टी राप्रपाको मुख्य कार्यालय, धुम्बाराहीमा नेवाः अभियन्ताहरुले धर्ना दिन लागेका छन् ।
कार्यसम्पादन समितिको बैठक चलिरहेको बेलामा सशस्त्रका पूर्व एआइजीसमेत रहेका नेता ठाकुरमोहन श्रेष्ठमाथि निर्घात कुटपिट भएको थियो ।
विवादित ठेकेदारसमेत रहेका उपाध्यक्ष विक्रम पाण्डेका समर्थकहरुले श्रेष्ठलाई हातपात गरेको श्रेष्ठ निकटस्थहरुले बताएका छन् ।
बैठकमा पाण्डेमाथि आर्थिक अनुशासनको प्रश्न उठेको र श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । त्यसपछि उनका समर्थकले ठाकुरमोहनमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भइसकेको छ ।
नेवाः अभियन्ताहरुले उक्त आक्रमणको विरोध गर्दै दोषीमाथि कारवाहीको माग गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रमको घोषणा गरेका छन् । नेवाः समुदायसँग सम्बन्धित नेवाः एकता, झि नेवाः, नेवाः युनाइटेड, स्टाण्ड फर नेवालगायत छ वटा संस्थाले संयुक्त रुपमा बिहान ११ बजे धर्ना कार्यक्रम राखेका छन् ।
टिप्पणीहरू