काँग्रेसको ह्विप : अनिवार्य उपस्थिति, विश्वासको मतको विपक्षमा मतदान
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जारी गरेको ह्विपमा पर्सिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।
‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ,’ लेखकको ह्विपमा उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते काँग्रेस सम्मिलित गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनेको छ ।
पछिल्लो सत्ता समीकरणपछि सरकारबाट बाहिरिएको काँग्रेसले गत मंगलबार सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू