नागरिक उन्मुक्ति पार्टी विभाजनको संघारमा: श्रीमती प्रधानमन्त्रीको पक्षमा,श्रीमान विपक्षमा

नागरिक उन्मुक्ति पार्टी विभाजनको संघारमा: श्रीमती प्रधानमन्त्रीको पक्षमा,श्रीमान विपक्षमा
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलकि नेत्री रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइएको छ । 

सोही पार्टीको अर्को खेमाले भने भोलिको मतदानमा प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ । ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीका दुई तिहाई सदस्यहरु दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने, सरकारलाई समर्थन नगर्ने र प्रदेश सरकारको हकमा विभिन्न पार्टीसँग सहकार्य र समन्वय गर्ने निर्णय गरेको बताइएको छ ।

हिजो कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

रञ्जिताका श्रीमान तथा पार्टीका संस्थापक संरक्षक रेशम चौधरी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने अडानमा छन् । श्रीमतीले भने नयाँ गठबन्धनलाई विश्वासको मत दिने औपचारिक निर्णय जारी गरिसकेकी छन् ।

टिप्पणीहरू