शून्य समयमा यस्तो सुनियो संसद

शून्य समयमा यस्तो सुनियो संसद
सुन्नुहोस्

प्रतिनिधि सभा बैठकमा सांसदहरुले विभिन्न माग र गुनासो राखेका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले ५० करोडको योजना माग्नेदेखि सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको नाम जोडिएकोबारे सरकारको जवाफ खोजे । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरुलाई कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका छन् । सांसदहरुको सिफारिसका आधारमा १६५ वटै निर्वाचन क्षेत्रमा न्यूनतम ५० करोड रुपैयाँको योजना नदिए बजेट पास गर्न सहयोग नगर्ने उनको चेतावनी छ ।

'यस वर्ष बजेट निर्माणमा सांसदहरुको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ',सांसद घिमिरेले भने,'बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भूमिका हुन्छ भन्ने कुराको नजिर संसदमा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहन्छु ।' 
 
अर्का सांसद विनिताकुमारी सिंहले मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीलाई ठगी धन्दा बनाइरहेको दावी गर्दै कारवाहीको माग गरिन् । गैरकानुनी तवरले लाखौँ रुपैया असुलेर युवाहरुलाई विदेश पठाउने त्यस्ता मेनपावर कम्पनीहरुलाई अबिलम्ब कानुनको दायरामा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराइन् । 

त्यस्तै,श्रम गर्न विदेश जाने युवाहरु विभिन्न समस्याहरुमा परेको जनाउँदै उनले त्यसतर्फ राज्यको ध्यान नगएकोमा असन्तुष्टि जनाइन् ।

‘हाम्रो देशको युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विदेश जाँदा विभिन्न मेनपावर र एजेन्टद्वारा ठगिने गरेको छ । कतिपय कम्पनीहरुमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था भए पनि एजेन्टहरुले प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँसम्म उठाउने गरेको छ । ऋण लिएर विदेश गएका युवाहरु आफूले भनेको काम र पारिश्रमिक नपाएर दुःख झेल्नुपर्ने अवस्था छ', सांसद सिंहले भनिन्, 'कयौँ कामदार युवाहरु जेलमा छन् त,कतिपय अलपत्र अवस्थामा छन् । विदेशमा मृत्यु भएका कामदारहरुको शव ल्याउन पनि महिनौँ लाग्छ । तर पनि यी समस्याहरुमा राज्यको ध्यान गएको देखिँदैन।'

शून्य समयमा सुन तस्करी प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको नाम जोडिएको विषय पनि उठेको छ । सांसद शान्ति बिकले १३० किलो सुन तस्करी प्रकरणमा अर्थमन्त्री पुनको पनि नाम जोडिएको भन्दै यस सम्बन्धमा सदनमा जानकारी गराउन माग गरेकी हुन् ।

‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा जुन कुराहरु, समाचारहरु बाहिर आइराखेका छन् । यो कुरा के हो म सरकारमार्फत जान्न चाहन्छु । यो सदनलाई जानकारी गराइयोस्’, उनले भनिन् । 

त्यसबाहेक शून्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणको कामको सम्बन्धमा धारणा राखेका थिए।
 

टिप्पणीहरू