परराष्ट्र मन्त्रालयमा राजदूतको ओइरो
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न मुलुकका राजदूतहरुसँगको भेटघाटलाई आज पनि निरन्तरता दिनुभएको छ ।
गृहबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उहाँसँग राजदूतहरुको भेटवार्ता बाक्लिएको हो । परराष्ट्रमन्त्रीसँग आज दुई वटा मुलुकका राजदूतले छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ । मन्त्री श्रेष्ठले बिहानै नेपालका लागि भेनेजुयला र लगत्तै पोर्चुगलका राजदूतसँग मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका भेनेजुयलाका राजदूत कपाया रोद्रिगुयज गोनालेज र पोर्चुगलका जोअओ मनुयल मेन्डेजले आज मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । परराष्ट्रमन्त्रीले हिजो नर्वे र पाकिस्तान, त्यसअघि रुसी राजदूतसँग भेटवार्ता गर्नुभएको थियो ।
मन्त्रीको शपथ ग्रहणलगत्तै गत बिहीबार चिनियाँ र भारतीय राजदूतले उपप्रधानमन्त्री श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका थिए । भोलिपल्ट दिउँसो अमेरिकी राजदूत डिन आर थम्पसन उहाँलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
टिप्पणीहरू