माओवादीको विधान परिमार्जनसहित पारित
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको नयाँ विधान पारित भएको छ । आज बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम रुप दिएको बताउनुभयो । छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको उहाँको भनाई छ ।
‘दुई वटा एजेण्डा मात्रै थिए । एउटा विधान सम्बन्धी नै हो । मुलभूतरुपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रुपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गर्यौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ', प्रवक्ता सापकोटाले भने ।
राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिएको राजीनामा बैठकले स्वीकृत गरेको छ ।
टिप्पणीहरू