सहकारी काण्ड छल्न सुनको सहारा-काङ्ग्रेस महामन्त्री गगन थापा

सहकारी काण्ड छल्न सुनको सहारा-काङ्ग्रेस महामन्त्री गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणलाई ढाकछोप गर्न सुन तस्करी प्रकरणलाई चर्चामा ल्याइएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कटाक्ष गर्दै सहकारी ठगी प्रकरणको अनुसन्धान निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । 

गृहमन्त्री लामिछाने आफै संलग्न रहेको सहकारी प्रकरण निस्पक्ष अनुसन्धान हुने कुनै आधार नभएको महामन्त्री थापाको तर्क छ । 

'सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ?', उनले प्रश्न गरेका छन्, 'जिबी राई,दिपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ, त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ । जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? प्रधानमन्त्रीबाट जवाफ चाहिएको छ । हामीलाई ओठे जवाफ होइन,जिम्मेवारी बोधसहितको जवाफ चाहिन्छ।'

महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई आफू जोडिएको प्रकरण तत्काल टुंग्याउन आग्रह गरेका छन् । नत्र,सहकारी प्रकरणलाई ओझेलमा पार्न सुन तस्करी प्रकरणलाई चर्चामा ल्याइएको प्रमाणित हुने उनको ठम्याई छ ।
 

टिप्पणीहरू