उपाध्यक्ष महरालाई तत्काल निलम्बन नगर्ने माओवादी केन्द्रको निर्णय
सत्तारुढ नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई तत्काल निलम्बन नगर्ने भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको पदाधिकारी बैठकले महराको जिम्मेवारी खोसिहाल्नुपर्ने अवस्था नरहेको निचोड निकालेको हो । अदालतबाट चार दिनको म्याद थप भइसकेको र महरा अस्पतालमा रहेको अवस्थासमेतलाई ध्यानमा राखेर हतारमा निर्णय गर्न आवश्यक नरहेको निष्कर्षमा बैठक पुगेको बताइएको छ ।
बैठकमा पदाधिकारीहरूले आ–आफ्ना धारणा राखेको तर निष्कर्षमा पुग्न बाँकी रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । महराको जिम्मेवारीबारे अर्को बैठक बसेर निर्णय गर्ने उनको भनाई छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्करीमा महराको संलग्नता पुष्टि हुने प्रमाण नभेटिएको प्रहरीबाट आफूलाई जानकारी प्राप्त भएको ब्रिफिङ गर्दै न्यायिक प्रक्रियालाई सहयोग गरेर जानुपर्नेमा जोड दिएका थिए । त्यसपछि बैठकले तत्काल निलम्बन वा राजीनामा गराउन नपर्ने निष्कर्ष निकालेको हो ।
टिप्पणीहरू