अनलाइनबाट नै प्रतिनिधि व्यवस्थापन गर्दै एमाले

अनलाइनबाट नै प्रतिनिधि व्यवस्थापन गर्दै एमाले

१० औं अधिवेशन नजिकिएसँगै नेकपा एमाले सिन्धुपाल्चोकले तयारीलाई तीव्र बनाएको छ । यही चैत १६ देखि १८ सम्म सदरमुकाम चौतारामा हुने अधिवेशनका लागि  गठन भएको मुल व्यवस्थापन समिति लगायत अन्य उपसमितिहरुले आफ्नो कामलाई तीव्रता बनाएको बताइन्छ ।

सबैभन्दा महत्वपूर्ण मानिएको प्रतिनिधि छनौटको काम चैत ५ देखि नै जिल्लाका विभिन्न वडामा सुरु भएको र चैत १० गतेभित्र प्रतिनिधि छनौट सम्पन्न हुने एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

वडा तहबाट प्रतिनिधि छनौट भएपछि यस बर्षबाट पहिलोपटक पार्टीले अनलाइन मार्फत प्रतिनिधि विवरण भर्ने व्यवस्था गरेको छ । जिल्ला अध्यक्ष एवम प्रतिनिधि छनोट मुल व्यवस्थापन समितिका संयोजक कमल नेपालका अनुसार प्रतिनिधि छनौट भएपछि प्रतिनिधि आवेदन फारममा उल्लेख भएको प्रतिनिधिको टेलिफोन नम्बरमा लिङक मेसेज आउनेछ ।

लिङक वा क्युआर कोड अन्य माध्यमबाट पनि आउन सक्ने एमालेले जानकारी दिएको छ ।  । लिङक वा क्युआरमा क्लिक गरेपछि आवेदन फारम देखिनेछ  । सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउनेछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुनेछ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था समेत रहेको एमाले प्रतिनिध छनौट समितिले जानकारी दियो ।

फोटो अपलोड भएपछि नेपालीमा आफ्ना नाम लेख्ने र जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउनेछ । त्यसैबाट सर्च गरेर मितिमा क्लिक गर्नुपर्ने व्यवस्था अनलाईनमा गरिएको छ । त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्ने हुन्छ । प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउने व्यवस्था गरिएको छ । आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गरेपछि खुल्ला वा महिलाको अपशन आउनेछ । त्यो छानेपछि पालिका र वडा नम्बर टाइप गर्नुपर्ने हुन्छ ।

आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गरे पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अंकको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउने व्यवस्था गरिएको छ । कोड मागेको ठाउँमा उक्त कोड  राखेपछि  ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’ भन्ने जानकारी आउने छ ।

त्यस्तै प्रतिनिधि छनौट भएको नभएको थाह पाउनका लागि निर्वाचन अधिकृतले पेस गरेको आधारमा प्रतिनिधि हो वा होइन छानबिन हुने व्यवस्था गरिएको छ । प्रतिनिधि शुल्क रु १००० र अन्य लेवी चुक्ता भएको छ वा छैन,  विधान, कार्यविधि अनुसार योग्य छ÷छैन भन्ने छानबिन हुनेछ । योग्य ठहरिएकाहरूलाई ‘एडमिन साइड’बाट विवरण प्रमाणीकरणको व्यवस्था मिलाइएको छ भने  विवरण सही भएमा सो विवरण स्वीकृत गरी एसएमएसबाट ‘नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्लाको १० औ जिल्ला अधिवेशनमा परिचयपत्रको लागि तपाईँको विवरण स्वीकृत भएको छ भनेर जानकारी आउने व्यवस्था गरिएको छ  । 

सो प्रकृया पुरा गरेपछि ‘कार्ड प्रिन्ट पश्चात् जानकारी दिइने छ ।’ भन्ने सन्देश आउने छ भने विवरण गलत भएमा एडमिन साइडबाटै अस्वीकृत गरी एसएमएसबाट ‘अधिवेशनको लागि तपाइको विवरण अस्वीकृत भएको छ । ‘भन्ने सन्देश आउनेछ । कार्ड प्रिन्ट भए पश्चात् पुन एसएमएसबाट  ‘अधिवेशनको लागि तपाईँको कार्ड प्रिन्ट भएको छ ।’ भन्ने सन्देश आउँने गरेर व्यवस्थापन गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

उक्त सूचनाहरू नआएमा प्रतिनिधिले पार्टी  जिल्ला कार्यालयमा सम्पर्क गर्नुपर्ने र  कसैसँग मोबाइल नभएमा वा विवरण भर्न नसकेमा अरूको मोबाइल फोन प्रयोग गरेर पनि फारम भर्न सकिने व्यवस्था गरिएको छ । फारममा जुन फोन नम्बर राखेको हुन्छ, त्यसैमा एसएमएसबाट सूचना आउने व्यवस्था गरिएको छ ।

सबै वडाहरुमा अनलाईन फारम चैत ८ गते भित्र पठाइ सक्ने गरेर व्यवस्था गरिएको छ । यदि सर्वसम्मत हुन नसकि  निर्वाचन भएमा उक्त कार्ड स्क्यान गरेर मात्रै प्रतिनिधि हल भित्र पस्न पाउने अध्यक्ष नेपालले जानकारी दिए ।
 

टिप्पणीहरू