'सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ समीकरण'

'सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ समीकरण'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा नयाँ आशा जगाउन र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर संमृद्धि हाँसिल गर्ने उद्धेश्यले नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ । 

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । 

'जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीब्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।'

त्यसक्रममा उहाँले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न दिर्नेशन पनि दिनुभयो ।

'जनतामा नयाँ आशा र भरोषा जगाउने कुराको कुनै विकल्प छैन', प्रधानमन्त्रीले भन्नुभयो, 'यो सङ्कल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्योरोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला ।'

आज अपराह्न प्रधानमन्त्री कार्यालयमा पाँचै दलका शीर्ष नेताहरुको उपस्थितिमा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित साझा संकल्प सार्वजनिक गरिएको हो । आठ पृष्ठ लामो साझा न्यूनतम कार्यक्रम तथा साझा संकल्पमा भ्रष्टाचार निवारण, आर्थिक विकास, संक्रमणकालीन न्याय र दिगो शान्तिजस्ता विषय समेटिएका छन् ।

टिप्पणीहरू