बाबुरामलाई महिन्द्र यादवको चुनौती : तीन बुँदे अनुमोदन, प्रदेशमा नयाँ इञ्चार्ज
माओवादी केन्द्रसँग एकिकरणको विषयलाई लिएर विभाजनमा पुगेको नेपाल समाजवादी पार्टी (नेसपा) का दुवै पक्ष निष्कासन र कारवाहीको तहमा पुगेका छन् ।
डा. बाबुराम भट्टराई पक्षधर समूहले केन्द्रीय समितिको हिजोको बैठकबाट एकताको पक्षमा उभिएका अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेशकुमार यादव लगायतका नेताहरुलाई निस्कासनको कारवाही गरेको थियो । आज महिन्द्र पक्षले केन्द्रीय समितिको बैठक बोलाएर बाबुरामको निर्णय अस्वीकार गर्दै कारवाही अमान्य घोषणा गरेको छ ।
बैठकले माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णय अनुमोदन गर्दै सातै प्रदेशमा नयाँ इञ्चार्ज र अध्यक्षसमेत चयन गरेको छ । जसअनुसार कोशी प्रदेशमा राजेन्द्रकुमार किराँती र बिमला भट्टराई इञ्चार्ज र अध्यक्ष तोकिएका छन् ।
मधेशमा देवेन्द्र यादव इञ्चार्ज र प्रमोद यादव अध्यक्ष तथा बागमतीमा अक्कलबहादुर थिङ इञ्चार्ज र वन्दना सुवेदीलाई अध्यक्ष चयन गरिएको छ । गण्डकी र सुदूरपश्चिमको इञ्चार्ज र अध्यक्षमा क्रमशः रमेश पोखरेल र ढाकाराम गौतम तथा मणिराज बडू र विनोद चन्द तोकिएका छन् ।
बैठकले लुम्बिनी प्रदेश अध्यक्षमा उमाशङ्कर यादव र कर्णाली इञ्चार्जमा देवीबहादुर बुढाथोकीलाई चयन गरेको छ । गैरभौगोलिक प्रदेशको इञ्चार्ज ज्ञानेन्द्र कुमाल र अध्यक्ष राधा थापा तथा प्रवाश प्रदेशमा नहेन्द्र प्रधान इञ्चार्ज रहेका छन् ।
नेसपा र माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकता गर्ने सहमति भएको थियो । सोही आधारमा उक्त पार्टीका उम्मेदवारहरुले माओवादीको हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेका थिए । माओवादीकै चिन्हबाट चुनाव जितेका महिन्द्रराय अघिल्लोपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत भए ।
तर,चुनावपछि एकता प्रक्रियालाई लिएर दुई धार रहँदै आएकोमा महिन्द्र पक्ष एकीकरणको निर्णयमा पुगेपछि नेसपा विभाजनको संघारमा पुगेको हो ।
टिप्पणीहरू