विनाले बोल्नुअघि अर्थमन्त्री खोजेपछि.....

विनाले बोल्नुअघि अर्थमन्त्री खोजेपछि.....
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीलाई विभेद गरेको आरोप लगाएकी छन् । 

आज बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफू बोल्ने बेला अर्थमन्त्री बाहिर निस्किएको भन्दै उनले आपत्तिसमेत जनाइन् । सांसद लामाले अर्थमन्त्री बिना नबोल्ने अडान लिएपछि सभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले पटक-पटक सम्झाउनु परेको थियो ।  

उपसभामुख रानाले बोल्न समय दिएपछि रोष्ट्रममा पुगेर उनले भनिन्, ‘मैले यहाँ अर्थमन्त्री देखिनँ उहाँ नै नभएपछि कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने राम्रो हुन्थ्यो । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’

अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोपसमेत लगाएकी उनलाई उपसभामुख रानाले 'उहाँ आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर जानुभएको छ' भन्दै बोल्न आग्रह गरिन् । तर लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी कसिन् ।

‘यसमा पनि विभेद भएको जस्तो लाग्यो । जब राप्रपा आउँदा उहाँ उठेर जानू भनेको विभेदकारी नै हो', लामाले भनिन्, 'यसमा म आपत्ति जनाउन चाहन्छु । अर्थमन्त्री चाहियो ।’

त्यसैबेला अर्थमन्त्री पुन बैठकमा आइपुगे । अर्थमन्त्री आएकोमा धन्यवाद व्यक्त गर्दै उनले राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि भन्न भ्याईन् । त्यसपछि बोलेकी उनले पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गरिन् ।

टिप्पणीहरू